२०७९, १२ जेष्ठ बिहीबार

ग्रामिण सडकको बिझोक, घाम लागे धुले, पानी परे खोलामा परिर्णत

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ नुवाकोट क्षेत्रमा निर्माण गरिएको सडक, अव्यवस्थित सडकका कारण विनाश भएको धानबाली ।
फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–३ पाली देखि दुल्लु नगरपालिका–९ हुँदै चामुण्डाबिन्द्रासैनी नगरपालिका जोड्ने सडक निर्माण भएको झण्डै १२ बर्ष भन्दा बढि भएको छ । आर्थिक बर्ष २०६५,०६६ भन्दा पहिले नै निर्माण गरिएको सडकमा हाल पूर्ण रुपमा आवत जावत बन्द छ । कर्णाली राजमार्गबाट सहायक राजमार्गको रुपमा विकास गरिएको सडकमा केहि समय सवारीले आवत जावत भएपनि हाल पूर्ण रुपमा बाटो बन्द छ । सडक निर्माण तथा मर्मतको लागि लाखौँ रुपयाँ खर्च भए पनि हाल सडक पूर्ण रुपमा अलपत्र अवस्थामा छ ।

स्थानीय सरकार निर्माण भए पछि मात्रै उक्त सडकको लागि २० लाख भन्दा बढि खर्च भएको छ । दुल्लु नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रणबहादुर बोहोराले विभिन्न आर्थिक बर्षमा गरेर २० लाख भन्दा बढि रुपैयाँ सडक मर्मतको लागि खर्च भए पनि सडक पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको बताए । सडक मर्मत तथा सुधारको लागि धेरै बजेट आवश्यक पर्ने भएपनि पर्याप्त बजेट अभावका कारण सडक अलपत्र अवस्थामा परेको उनले बताए ।

दैलेखकै चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ देखि ८ हुँदै ६ नम्बर वडाबाट मध्यपहाडी राजमार्गमा जोड्न (काल्चेकाँध खार लाईन्चौर) कृषि सडक निर्माण भए देखि नै पूर्ण रुपमा बन्द छ । स्थानीय तहको निर्वाचन अघि नै निर्माण सुरु भएको सडकमा स्थानीय सरकार निर्माण भए पछि साढे १० लाख र प्रदेश सरकारको कृषि सडक अन्तर्गत ८० लाख गरेर झण्डै १ करोड सडक निर्माणमा खर्च भएको सडक हाल पूर्ण रुपमा बन्द छ ।

सडक निर्माण भए पस्यात सञ्चालनमा आइरहेको अवस्थामा बर्षायामको बाढीका कारण सडक पूर्ण रुपमा बन्द रहेको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष नन्द्र प्रसाद चौलागाईले बताए । ‘सडक निर्माण नभएको लामो समय भए पनि सडकमा सवारी साधनको आवत जावत हुन सकेको छैन,’उनले भने, ‘पूर्ण रुपमा सडकको मर्मत सुधार नहुँदा बर्षेनी बिग्रिने गरेको छ । सडक मर्मत सुधारको लागि बर्षेनी लाखौँ बजेटको आवश्यक पर्ने गरेको छ ।

बर्षाले तहसनहस भएको सडक हाल सम्म पनि सञ्चालमा आएको छैन । अब प्रदेश सरकारको बजेट नआउञ्जेल सम्म सडक सञ्चालन हुन सक्ने अवस्था छैन ।’

यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ पादुका खोल पुल देखि नुवाकोट जोड्ने सडक निर्माण भए देखि नै पूर्ण रुपमा अवरुद्ध भएको छ । बर्षायाममा आएको बाढीका कारण सडक पूर्ण खोलामा परितर्णत भएको छ । भने सडकबाट गएको बाढीका कारण किसानले उत्पादन गरेको धानबालीमा समेत क्षेति पुर्याएको छ । यी केहि उदाहरण मुलक सडक मात्र हुन् । पछिल्लो समय स्थानीय सरकार तथा प्रदेश सरकारले सडक निर्माणलाई विशेष प्रथामिकता दिएका छन् ।

स्थानीय जनप्रतिनिधिहरुको रोहोबरमा निर्माण गरिएका अधिकांश सडक सवारी आवत जावत पूर्ण रुपमा बन्द छन् । सडक निर्माणलाई विकास भनिए पनि ग्रामिण क्षेत्रका अधिकांश किसानलाई सडक बिनास बनेर आएको छ । यसरी जथाभावी रुपमा निर्माण गरिएका सडकमा बर्षेनी करडौँ रकम मर्मत सुधारको लागि खर्च हुने गरेपनि सडकको मर्मत सुधार हुन सकेको छैन ।