किसानलाई धान भित्राउने चटारो, बेमौसमी बर्षाले उत्पादन घट्ने

सुर्खेत। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का भरम भण्डारी धान भित्राउने काममा व्यस्त छन् । दशैँ मनाएर धान काट्नमा व्यस्त भएका उनी तिहार लगत्तै भित्राउनमा व्यस्त छन् । उनी संगै उनको परिवार टोल छिमेकमा यति खेर धान भित्राउने चटारो छ । कात्तिक पहिलो साता आएको बेमौसमी बर्षाका कारण काटेको धानबाली हप्ता दिन सम्म खेतमै भिजेपछि धान उत्पादन घट्ने भन्दै उनी चिन्तामा छन् ।
‘गत बर्षको तुलनामा यो बर्ष धान बाली राम्रो भए पनि बेमौसमी बर्षाका कारण उत्पादनमा क्षति पुग्ने देखिन्छ,’ उनले भने, ‘दशैँ लगत्तै काटेको धान एक हप्ता भन्दा लामो समय सम्म खेतमै भिज्यो, समयमा नै धान उठाउन नपाउँदा केहि खेतमै झर्यो भने केहि कुहिएर गयो । जस कारणले पनि उत्पादन घट्ने भयो ।’
भरम जस्तै सोहि वडाका लोकेन्द्र विक पनि धान भित्राउनमा व्यस्त छन् । तिहार लगत्तै धान भित्राउन व्यस्त रहेका उनी पनि यो बर्ष बर्षाका कारण धान उत्पादन कम हुने बताउँछन् । ‘यो बर्ष समयमा नै बर्षा हुँदा समयमा नै धान रोपाईँ भएको थियो । समयमा नै सहि रुपमा भित्राउन पाएको भए धान उत्पादन बढ्ने थियो तर बर्षाका कारण धान उत्पादन गत बर्षको भन्दा पनि कम भएको छ ।’
कात्तिक पहिलो साता परेको बर्षाका कारण कर्णाली प्रदेशका १० वटै जिल्ला सहित देशैँभरका धानबालीमा क्षति पर्याएको छ । कर्णाली प्रदेशको ब्राण्ड मानिने मार्सी धानमा बर्षका कारण नराम्रो संग क्षति पर्याएको छ । जुम्ला जस्तै सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम लगायतका क्षेत्रहरुमा नराम्रो संगै धानबालीमा क्षति पर्याएको छ ।
कर्णालीमा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरीन्छ । ति मध्ये प्रति टेक्टर चार मेटिक्टन धान उत्पादन हुने कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । गत बर्षको तुलनामा कुल उत्पादनको १० देखि २० प्रतिशतको हाराहारीमा उत्पादन घट्न सक्ने निर्देशनालयले बताएको छ । सबै भन्दा बढि धान उत्पादन हुने सुर्खेतमा बेमौसमी बर्षाका कारण २६ हजार ३१ मेटिक्ट धानमा क्षति पुगेको निर्देशनालयका सुचना अधिकारी तेजबहादुर खनालले जानकारी दिए । कुल १० हजार एक सय ८१ हेक्टर क्षेत्रफलमा धान खेती गरिने दैलेखमा ३ सय ५ हेक्टर क्षेत्रफलमा रहेको धान खेती नराम्रो संग प्रभावित भएको कृषि विकास कार्यालय दैलेखले जानकारी दिएको छ ।
‘पालिकाहरुबाट बिस्तृत रुपमा तथ्याङ्क संकलन भइरहेको छ,’ कार्यालयका प्रमुख नरेन्द्र थापाले भने, ‘जलवायु परिवर्तनका कारण भएको बर्षाका कारण गत बर्षको तुलनामा धानबालीमा नराम्रो संग क्षति पुगेको छ । यो बर्ष धान बाली राम्रो थियो बर्षा नभएको भए धान उत्पादन बढ्ने हाम्रो अपेक्षा थियो तर बर्षाका कारण धानबालीमा उत्यादन घट्ने देखिन्छ ।’ असोज ३१ गतेबाट कात्तिक ३ गते सम्म नियमित रुपमा परेको बर्षाका कारण कर्णाली १० वटै जिल्लामा धान बालीमा नराम्रो संग क्षति पुर्याएको छ ।
