२०८३, १८ असार बिहीबार

राष्ट्रिय जनगणना २०७८, टोल–टोलमा गणक, गणना कार्यमा सघाउन अपिल

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ६ मा तथ्याङ्क संकलन गर्दै गणक । फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । राष्ट्रिय जनगणना २०७८ को १२औँ श्रृंखला कात्तिक २५ गते देखि सुरु भएको छ । मंसिर ९ गते सम्म सञ्चालन हुने गणना कार्यको लागि वडाका टोल, टोल तहमा गणकहरु परिचालन भएका छन् । राष्ट्रिय तथ्याङ्कको आधार जनगणनालाई सफल पार्नको लागि राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले अपिल गरेको छ । दैलेखका ११ वटै स्थानीय तहका टोलटोल गणकहरु परिचालन भएका छन् । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा २७ जना गणक परिचालन गरिएको छ ।

टोल टोलमा पुगेर स्थानीय अगुवाको सहयोगमा तथ्याङ्क संकलन गर्ने कार्य गरीरहेको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ६ को गणना क्षेन नम्बर एकमा परिचालन भएका कलम कार्कीले बताए । ‘उत्साहका साथ गणना कार्यमा सक्रिय छौँ,’ उनले भने, ‘गाउँघरमा स्थानीय अगुवा दाजुभाईहरुको सहयोगले गणना कार्यमा थप सहज भएको छ ।’ कार्की जस्तै ६ नम्बर वडाको गणना क्षेत्र नम्बर २ मा सुनिल शाही र ३ मा अनिता शाही गणना कार्यमा खटिएका छन् । नेपालमा प्रत्येक १०, १० बर्षमा गरिने जनगणनालाई एकदमै महत्वपूर्णका साथ लिइने गरिन्छ ।

अझ तथ्याङ्कको एकिन स्रोत नभएको कर्णाली प्रदेशमा जनगणनाले तथ्याङ्कीय कार्यमा एकदमै सहज हुने देखिन्छ । राष्ट्रिय जनगणना २०७८ केन्द्रीय तथ्याङ्क विभागले दैलेख जिल्लामा एक जिल्ला जनगणना कार्यलय र चार वटा स्थानीय जनगणना कार्यालयहरु स्थापना गरेर गणना कार्य गरीरहेको छ ।

यस अघि भदौँ ३० गते देखि असोज १८ गते सम्म पहिलो चरणमा जिल्लाभरका ८१ जना सुपरिवेक्षकले टोल टोलमा पुगेर सुचिकरण कार्य गरीसकेका छन् । गणना अन्तर्गत जनसंख्याको आधारमा एक वडामा २ देखि ७ जना सम्म गणकहरु खटाइएको जिल्ला जनगणना कार्यलयका जनगणना अधिकारी मोतिराम रोकायले बताए । साथै उनले नेपाल प्रहरी, नेपाली सेना, शसत्र प्रहरीको कार्यालयमा भने सोहि क्षेत्रमा सम्बन्धित व्याक्तिहरु परिचालन गरिएको बताए ।

दैलेखका ११ वटा स्थानीय तह मध्ये नारायण नगरपालिकामा ४७, दुल्लु नगरपालिकामा ४८, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा २७, आठबिस नगरपालिकामा ३३ जना गणक परिचालन गरिएको छ । नौमुले गाउँपालिकामा २२, महावु गाउँपालिकामा २२, डुड्गेश्वर गाउँपालिकामा १८, गुराँस गाउँपालिकामा २४, भैरवी गाउँपालिकामा २४, ठाँटीकाँध गाउँपालिकामा २१ र भागवतीमाई गाउँपालिकामा २२ जना गणक परिचालन गरिएको छ ।