२०८१, ३ मंसिर सोमबार

निषेधाज्ञामा विपन्न परिवारलाई जापानमा अध्ययनरत विद्यार्थीको सहयोग

सुर्खेत । निषेधाज्ञाको समयमा दैलेखका अति विपन्न परिवारलाई जापानमा अध्ययनरत विद्यार्थीले खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ को नुवाकोट र लाइनचौर क्षेत्रमा रहेका अति विपन्न ८० घर परिवारलाई खाद्यन्न सहयोग गरेका हुन् ।

जापानको क्योटो शहरमा अध्ययनरत चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का केशव कार्की, लक्षमण शाही संगै सुर्खेतमा अध्ययनरत निराजन शाहीले संयुक्त रुपमा राहत उपलब्ध गराएका हुन् । राहत शनिबार नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बखत बोहोरा सहितको उपस्थितिमा वितरण गरिएको छ । चामल, दाल, नुन गरेर झण्डै ८० हजार बराबरको राहत वितरण गरिएको विद्यार्थी केशव कार्कीले बताए ।

कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहर फैलिए संगै कर्णालीका दैलेख सहितका १० वटै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । लामो समयको निषेधाज्ञाले गाउँघरमा दिनभर काम गरेर खाने परिवारको दैनिकी केहि सहज बनाउने उद्देश्य स्वरुप सहयोग गरिएको उनको भनाई छ ।

‘कोरोना नेपालमा दिनदिनै बढ्दै गएको समाचारले मन स्तब्ध बनाएको छ,’ कार्कीले भने, ‘यो समयमा आफ्नो गाउँघरको लागि केहि गर्न सकिन्छ । दिनभर काम गरेर खाने पारिवारलाई केहि राहत दिन सकिन्छ भन्ने हिसाबले कमाईको केहि पैसा बचत गरी सहयोग गरेका छौँ ।’