२०८१, १९ बैशाख बुधबार

दैनिक १ हजार सिलिण्डर अक्सिजन भर्ने प्लान्ट स्थापना गर्न निर्देशन

सुर्खेत। कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले दैनिक एक हजार सिलिण्डर अक्सिजन भर्ने प्लान्ट स्थापना गर्न निर्देशन दिएको छ । समितिको शनिबारको बैठकले कोभिड १९ हटलाईन सेवा सुरु गर्न समेत निर्देशन दिएको छ ।

समितिकी सदस्य पद्मा खड्काले कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री लगायत प्रदेश भित्र पर्याप्त मात्रामा अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने, प्रदेश अस्पताल सुर्खेतमा दैनिक १ हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका बताइन् ।

प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति गर्न प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने, कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीको लागि मित्र राष्ट्र तथा अन्य मुलुक लगायत गैर सरकारी संघ संस्था, निजी क्षेत्र सँग प्रदेश सरकारले समन्वय गरी अगाडि बढ्नुपर्ने निर्देशन दिएका बताइन् ।

बिरामी र बिरामीका आफन्तहरुमा अत्यधिक डर, त्रासको वातावरण भई मानसिक समस्या समेत देखिन थालेकोले यसलाई न्यूनीकरण गर्न मनोविमर्श सेवा दिनको लागि मनोविमर्शकर्ताको व्यवस्था गरी निःशुल्क हटलाइन सेवाको तत्काल सुरुवात गर्नुपर्ने निर्णय गरिएको सांसद खड्काले बताइन् ।

बैठकले प्रदेश अस्पताल, सुर्खेतले बैशाख ३१ गते प्रकाशित कोभिड–१९ को संक्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने भन्ने व्यहोराको सूचना प्रति समितिको गम्भीर ध्यानाकर्षण भएकोले प्रदेश सरकार महामारी नियन्त्रणमा गम्भीरताका साथ लाग्नुपर्ने निर्णय गरेको समितिका अध्यक्ष देवि ओलीले बताइन् ।