२०८१, १ बैशाख शनिबार

कोरोनाका जटिल बिरामी मात्र रिफर गर्न प्रदेश अस्पतालको आग्रह

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतले स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका जटिल बिरामीलाई मात्रै अस्पतालमा रिफर गर्न आग्रह गरेको छ । हाल दैनिक कर्णालीका अन्य जिल्लाहरुमा बिरामीहरु उपचारको लागि रिफर भइरहेको अवस्थामा प्रदेश अस्पतालले त्यहाँ उपचार सम्भव नभएकालाई मात्रै पठाउन आग्रह गरेको छ ।

शनिबार प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘स्थानीय स्वास्थ्य संस्थाहरुबाट संभव हुनेसम्मको उपचार त्यहिबाट गर्नुस र त्यहाँ सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गरी पठाउन सबैमा आग्रह गर्दछु ।’

यस अघि शुक्रबार साँझ प्रदेश अस्पतालले अक्सिजन अभावका कारण कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने बताएको थियो । झण्डै १ सयको हाराहारीमा संक्रमित रहेको प्रदेश अस्पतालमा अक्सिजनको चरम अभाव रहेको छ ।

थप ६ जनाको मृत्यु
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश अस्पतालका ६ सहित सल्यानका एक र रुकुम पश्चिमका एक गरी कर्णालीमा ८ जनाको मृत्यु भएको छ । यो संगै कर्णालीमा कुल संक्रमित मध्ये मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा ४ सय ७२ र एन्टिजेन विधिबाट १ सय ४६ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै थप २ सय ४९ जना संक्रमित उपचार पछि निको भएका छन् । हाल कर्णालीमा ५ हजार ३ सय ५ जना सक्रिय संक्रमित रहेका छन् ।