२०८३, १८ असार बिहीबार

भारतमा एकै दिन ४ लाखमा कोरोना संक्रमण

काठमाडौँ । दक्षिणी छिमेकी देश भारतमा एकै दिन चार लाखभन्दा बढी कोरोनाभाइरस संक्रमितका बिरामी थपिएका छन् । यस्तै पछिलो २४ घन्टामा ३ हजार ५ सय २२ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो एकै दिन देखिएका संक्रमितको संख्या अहिलेसम्मकै बढी हो । यसअघिका आठ दिन लगातार दैनिक तीन लाखभन्दा बढी संक्रमित पुष्टि हुँदै आएका थिए। आज भने नयाँ संक्रमित चार लाख नाघेका छन् ।

यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ पुगेको छ । त्यस्तै, अहिलेसम्म एक करोड ९१ लाख ५७ हजार ९४ जनामा कोरोना पुष्टि भइसकेका छन् । महाराष्ट्रमा मात्र ६२ हजार ९ सय १९ संक्रमित थपिएका छन् । यस्तै कर्नाटकमा ४८ हजार २ सय ९६, केरलामा ३७ हजार १९९ जनामा कोरोना देखिएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जनाले ज्यान गुमाएका छन् । गत एक सातादेखि दैनिक ज्यान गुमाउनेको संख्या तीन हजार नाघेको छ ।