२०७८, ५ असार शनिबार

निषेधाज्ञामा वीरेन्द्रनगरमा बजार अनुगमन

सुर्खेत । निषेधाज्ञाको अवधिभर जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई समेत तिव्रता दिएको छ । जस अन्तर्गत शनिबार स्वास्थ्य संस्थाहरु, खाद्यन्न पसल, तरकारी पसल, सब्जी मण्डी गरी १३ वटा पसलको अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाईमा अनुगमन गरीएको हो ।

निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने, कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताहरुलाई मर्कामा पार्ने काम हुने भएकोले अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए । उनले मेडिकलहरुमा मास्क सेनिटाइजरको प्रयोग, बिक्री दर लगायतको बारेमा बुझ्ने गरेको समेत बताए ।

अनुगमनका क्रममा विशेषगरी तेल, पिठोको मूल्य बृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताए । उनले दैनिक उपभोग्य बस्तुहरु ल्याएको कुनैपनि गाडीहरु नरोकिएकोले कुनै व्यापारीले अस्वभाविक मूल्य बृद्धि गराएको पाइए कारबाही गरिने चेतावनी दिए ।

साथै व्यापारीहरुलाई स्वास्थ्यका मापदण्ड अपनाएर तोकिएको समय भित्र सामानहरु बिक्रीबितरण गर्न सुझाव दिए । यस्तै उनले तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनिकरुपमा उपभोग्य बस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिएका छन् । निषेधाज्ञाको समयमा पनि अनुगमन गर्दा उपभोक्ता तथा सर्वसाधारणहरुलाई व्यापारीहरुले ठगी गर्न नपाउने हुँदो बाँकी अन्य दिनमा पनि निरन्तरता दिइने बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणलाई ध्यानमा राखेर सुर्खेतमा यहि बैशाख १५ गतेबाट निषेधाज्ञा जारी गरिएको छ ।