२०८१, ७ बैशाख शुक्रबार

बिज्ञापन बिनै कर्मचारीको नियुक्ती

सुर्खेत । कालिकोटको महावै गाउँपालिकाले बिज्ञापन बिना नै करारमा कर्मचारीको नियुक्ती गरेको पाइएको छ । गाउँपालिकालाई आवश्यक परेको भन्दै ७ जना पूर्व कर्मचारीलाई पुनः नियुक्ती गरेको हो । पुन नियुक्ती गरेका करारका कर्मचारीलाई गाउँपालिकाले २०७६ फागुनमा आवश्यक दरबन्दी लोकसेवा मार्फत पुर्ती गर्ने भन्दै हटाएको थियो । पछि लोकसेवाबाट पदपुर्ती नभएको भन्दै यहि माघ १ गतेबाट कार्यालयमा पुन हाजिर गराएको छ । पुनः नियुक्ती गरिएका कर्मचारी गा.वि.स हुँदा देखि कार्यरत थिए । उनीहरु प्रशासन सहायकको रुपमा कार्यरत छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कुनै पनि करारको कर्मचारी नियुक्ती गर्दा विज्ञापन गर्नुपर्ने प्रावधान रहेको छ । जस अनुसार गाउँपालिकाले हटाइएका ७ जना कर्मचारीलाई पुन नियुक्ती गर्दा विज्ञापनको आधारमा गर्नुपर्ने हुन्छ । तर गाउँपालिकाले आफ्नो व्यक्तिगत तथा राजनितिक स्वार्थबाट कर्मचारी नियुक्ती गरेको स्थानीयको आरोप छ ।

गाउँपालिकामा जब कर्मचारी आवश्यक पर्ने समय थियो त्यो समयमा करारका कर्मचारीलाई हटाइएको तर हाल सबै वडामा स्थाई कर्मचारी हुँदा हुँदै पनि आफ्नो व्यक्तिगत स्वार्थका कारण करारका कर्मचारीको नियुक्ती गरिएको उनीहरुको आरोप छ ।

हाल महावै गाउँपालिकाका सात वटै वडामा लोगसेवा पास गरेका स्थायी खरीदार स्थरका कर्मचारी कामकाजमा छन् । जसमा गाउँपालिकाले हाल मात्रै करारमा नियुक्ती गरेका कर्मचारीलाई प्रत्येक वडामा एक एक जनाका दरले पठाएको छ । जसमा वडा नं १ मा सुर्य शाही, वडा नं २ मा केसर सिंह, वडा नं ३ मा नेत्र सिंह, वडा नं ४ मा धर्म सिह, वडा नं ५ मा संकलाल प्रोखरेल, वडा न ं ६ मा मणिराम उपाध्याय र वडा नं ७ मा अक्कल शाहीलाई नियुक्ती गरिएको छ । सत्तारुढ दल नेकपाको बिभाजनसंगै नेता कार्यकर्ताको मनोभावना आफुतिर तान्न गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले यस्तो निर्णय गरेको एक स्थानीयको आरोप छ । गाउँपालिकाले हाल मात्रै २४ जना प्राविधि कर्मचारीको लागि विज्ञापन खोलेको छ । प्रविधि कर्मचारीको लागि विज्ञापन गर्ने तर प्रशासन कर्मचारीको लागि विज्ञापन नगरेको पाइएको हो ।

यो बिषयमा गाउँपालिकामा बुझन खोज्दा गाउँपालिकाले लोकसेवा मार्फत खाली रहेका कर्मचारीको पदपुर्ती नभए पछि हटाइएकालाई नै पुन नियुक्ती गरिएका बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशमान सिंहले लोकसेवाबाट पदपुर्ती नभए पछि पुरानै कर्मचारीलाई पुनः स्थापित गरिएको बताए । गाउँपालिकाको लागि तत्काल कर्मचारी आवश्यक परेको तर विज्ञापन गर्दा धेरै समय लाग्ने भएकाले तत्कालको लागि पुरानै कर्मचारीलाई नियुक्ती गरिएको उनको भनाई छ ।