२०८१, ८ बैशाख शनिबार

कर्णालीमा कोरोनाविरुद्धको खोप, पहिलो चरणमा साढे ११ हजारलाई लगाइने तयारी

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो चरणमा साढे ११ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको छ । कर्णालीका १० वटै जिल्लाका फ्रन्टलाईनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारीहरुलाई खोप लगाउने तयारी भएको हो । भारत सरकारले नेपाललाई अनुदान स्वरूप दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज मध्ये कर्णालीमा पहिलो चरणमा साढे ११ हजार जनालाई लगाउने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

निर्देशनालयका निर्देशक डा. रबिन खड्काले पहिलो चरणमा स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारी, सव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, महिला सयम सेवीकाहरुलाई खोप लगाउने तयारी भइरहेको बताए ।

‘पहिलो चरणको खोप लगाउने तयारीमा जुटेका छौँ,’ डा. खड्काले भने, ‘प्रहिलो चरणमा प्रदेशका १० वटै जिल्लामा फ्रन्टलाईनमा रहेक काम गर्ने कर्मचारीलाई प्रथामिकतामा राखिएको छ । त्यसपछि दोस्रो तेस्रो चरण गरी सबै क्षेत्रलाई खोप लगाइनेछ ।’

पहिलो चरणको खोप सुर्खेत र नेपालगञ्जमा भण्डारण गरेर लगाउन सुरु गर्ने उनको भनाई छ । नेपालगञ्जबाट कर्णालीका विकट हिमाली जिल्लाहरुमा खोप लिन सजिलो हुने भएकाले नेपालगञ्जबाट वितरण सुरु गरिने उनको भनाई छ । पहिलो चरण सुर्खेतमा सबै भन्दा बढि र हुम्ला, डोल्पा सबै भन्दा कम मानिसलाई लगाउने उनको भनाई छ । डा. खड्काले दोस्रो चरणमा सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी लगायतका क्षेत्रका व्यक्तिहरुलाई लगाउने तयारी भएको समेत बताए ।

कर्णालीको खोप संयोजकमा डा. अनुज भट्टचन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशको लागि खोप संयोजकमा डा. अनुज भट्टचनलाई संयोजकमा नियुक्त गरेको छ । सातै प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउने अभियानका लागि संयोजक तोक्ने क्रममा कर्णालीको लागि भट्टचनलाई संयोजक तोकिएको हो ।