शैक्षिक सुधार कार्यक्रम सञ्चालनमा जोड
सुर्खेत । विद्यालयमा थुप्रै शैक्षिक सुधारात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुले बताएका छन् । हाल विद्यालयमा शिक्षाका थुप्रै सुधारात्मक कार्यक्रमको आवश्यकता रहेको उनीहरुको जोड छ ।
ग्लोवल एक्सेस नेपालले आयोजना गरेको ‘कोडिनेसन एण्ड लर्निङ सेएरिङ मिटिङ’मा सहभागि जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुले यस्तो बताएका हुन । कार्यक्रममा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले शैक्षिक सुधार कार्यक्रमलाई वडा तह सम्म पु¥याउनुपर्ने बताए । ‘अहिलेको अवस्थामा हामीले शिक्षा क्षेत्रलाई सुधार गर्न सकेका छैनौँ । सुधार गर्नु अहिलेको जरुर आवश्यकता हो,’ उनले भने, ‘अहिले शिक्षाको क्षेत्रमा संघिय ऐन नबन्दा पालिकालाई यस सम्बन्धी ऐन बनाउन एकदमै गाह्रो भएको छ । अहिले सम्म हामी दुविधामा छौँ । यस्तो दुविधाले गुणस्तरीय शिक्षा हुन सक्दैन ।’ स्थानीय तहको शैक्षिक सुधारको लागि सरकारी क्षेत्र संगै अन्य विभिन्न संघ संस्थाहरु एक जुट हुनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु विद्यालय तह सम्म पु¥याउन आवश्यक रहेको बताए । यस्तै भेरीगंगा नगरपालिकाका उप–प्रमुख रेणु आचार्यले शैक्षिक सुधारको लागि सबै क्षेत्र मिलेर सुधारात्मक कार्यक्रम ल्याउनुपर्ने बताए ।
कार्यक्रममा ग्लोवल एक्सेस नेपाल अन्तर्गतको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमकी सुर्खेत संयोजक खगेश्वरी बोहोराले ग्लोबल एक्सेस नेपाल अन्तगतका बहिनी शिक्षाका लागि दिदी कार्यक्रम, सुरक्षित सिकाई परियोजना, अन्तराष्ट्रिय नागरिक सर्वेक्षण परियोजनाको बारेमा जानकारी दिइकी थिइन् ।