प्रहरीको नजरमा नपरेका भिआइपी गाडी सशस्त्रले समात्यो, प्रहरी अनुसन्धान गर्दै
सुर्खेत ।
गृह मन्त्रालयको पास बनाई जाजरकोट आई फर्किएका दुइ गाडीलाई सस्त्र प्रहरी सुर्खेतले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई अनुसन्धानका लागि बुझाएको छ । बा १८ च ७६२१ नम्बरको हाइलेक्स र बा १५ च ३५०५ नम्बरको स्कारपियो गाडी सशस्त्र प्रहरी सुर्खेतको टोलीले नियन्त्रणमा लिएको थियो । भेरीगंगा नगरपालिकाको छिन्चु बजारबाट विहिबार राती सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । छिन्चुस्थिल मनकामना होटलबाट नियन्त्रणमा लिएका एक हाइलेक्स र एक स्कारपियो गाडीले गृह मन्त्रालयबाट ट्राभल्स एण्ड टुर्सको नाममा पास बनाएको स्रोतले जानकारी दिएको छ ।
बहुमुल्य पत्थर काइनाइट र टुर्मालिन पत्थर चोरी, निकासी हुँदै गरेको विशेष सूचनाका आधारमा दुई वटा भिआइपी गाडी सशस्त्र प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिइएको प्रहरी श्रोतको भनाई छ । सरकारले २०७२ सालदेखि तेस्रोमुलुक निकासी बन्द गरेको जाजरकोटको बहुमुल्य पत्थर काइनाइट र टुर्मालिन पत्थर निकासीका लागि दुई वटा गाडी प्रयोग भएको आशंकामा पक्राउ गरिएको जनाइएको छ ।
जाजरकोटमा पाइने बहुमुल्य पत्थरको बजारमुल्य ५ सयदेखि २५ हजार प्रति किलो पर्ने गर्दछ । सरकारले उत्खनन स्वीकृति दिएपनि देशभित्र प्रशोधन उद्योग नहुँदा चोरी निकासी तेस्रो मुलुक भारत, चीन, अमेरिका पु¥याउने गरिएको छ ।
सुर्खेत प्रहरीका धेरै स्थानमा चेकपोस्ट भएतापनि प्रहरीले नसमात्नु शंकास्पद देखिएको छ ।
सशस्त्र प्रहरी सुर्खेतको गस्ती टोलीले पक्राउ गरी शुक्रबार विहान जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामप्रसाद घर्तीले घटनाको विषयमा अनुसन्धान भैरहेको जानकारी दिए । गाडीसंगै नियन्त्रणमा लिएका व्यक्तिहरुलाई सोधपुछ, प्रारम्भिक बयान लिने काम भैरहेको उनले जानकारी दिए । ‘हामी अनुसन्धानकै क्रममा भएकाले थप विवरण आउन बाँकी छ । अनुसन्धान गरेपछि सबै जानकारी गराउँछौं ।’