आठविसका स्वास्थ्यकर्मीलाई पीपीई अभाव, जोखिमपूर्ण काम गर्दै
सुर्खेत ।
दैलेख जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आठबीस नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले जोखिमपूर्ण कार्य गर्दै आइरहेका छन् । भारतका विभिन्न शहरबाट घर फर्केर क्वारेन्टाईनमा बसेका नागरिकको स्वास्थ्य जाँच गर्ने स्वास्थ्यकर्मीहरुले प्लाष्टिकले शरिर छोप्ने गरी व्यक्तिगत सुरक्षा किट (पिपिई) प्रयोग गर्दै आइरहेको पाइएको हो । आठबीस नगरपालिका वडा नं. १ र दुइ मा ८३ जना नागरिक भारतबाट आएका कारण क्वारेन्टाईनमा बसिरहेका हुन । उनीहरुको स्वास्थ्य जाँच गर्न खटाइएका स्वास्थ्यकर्मीले आवश्यक पर्ने पिपिई पनि नपाउँदा समस्या भएको हो । ‘भारतबाट आएका नागरिकलाई दैनिक रुपमा चेकजाँच गर्नुपर्ने हुन्छ ।’ एक स्वास्थ्यकर्मीले भने, ‘आवश्यक माक्स, पञ्जा, पिपिई नभएका कारण त्रासका बिचमा उनीहरुको स्वास्थ्य जाँच गर्नुपरिरहेको छ ।’
नगर स्वास्थ्य इन्चार्ज देवराज तिमिल्सेनाले भारतबाट फर्किएर नगरभरि दुइ सेट मात्रै पिपिई रहेको बताए । ३० हजार भन्दा बढी जनसंख्या रहेको आठबीस नगरपालिकामा स्वास्थ्यका कर्मचारीको उपस्थिति न्यून रहेको उनको भनाई छ । जम्मा ३० जना मात्र कार्यरत रहेको आठबीस नगरपालिकामा अहिलेसम्म ४०० भन्दा बढी भारतबाट नागरिकहरु फर्केका छन् ।
‘क्वारेन्टाईनमा रहेका व्यक्तिलाई जाँच्ने काम भएको छ । सात्तालामा ४३ जना, सिंगौडीमा ३८ जना भारतबाट फर्केर आएका नागरिकलाइृ राखिएको छ । अन्यत्र राख्ने तयारी भइरहेको छ । कहाँ कसरी कर्मचारी खटाउने भन्नेमा तनाव सिर्जना भइरहेको छ ।’ उनले भने, ‘ कोरोना संक्रमण जाँच गर्ने न उपकरणहरु पर्याप्त छन न त सामाग्रीहरु नै छन् । भारतबाट आएका नागरिकलाइ जाँच गर्नेबेलामा स्वास्थ्यकर्मी आफैं डराउनुपर्ने अवस्था आएको छ ।’ सरकारले दुर्गम क्षेत्र भएको र जनसंख्या धेरै तर स्वास्थ्यकर्मी कम भएको आठबीसमा स्वास्थ्यकर्मी थप खटाउनुपर्ने बताए ।
आठबीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले कोरोना जाँचकाल ागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामाग्री प्रदेश सरकारसँग माग गरेको बताए । ‘हामी आफैंले अहिले खरिद गर्न सक्ने अवस्था छैन । प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलसँग कुरा गरिरहेको छु । स्वास्थ्यकर्मीहरुकालागि आवश्यक सामाग्रीहरु माग भएको छ । प्रदेश सरकारले दिनेमा हामी आशावादी छौं ।’ उनले भने, ‘हाल क्वारेन्टाइनमा बसेका नागरिकको खानपिनको व्यवस्था नगरपालिकाले नै गरेको छ । साढे ६ लाख जति बजेट हामीले नगरपालिका भरि उक्त कार्यकालागि छुट्याएका छौं ।’ उनले नगरपालिकामा स्वास्थ्यकर्मीको मोबाईल टोली नै खटाइएको बताए ।
