बाल संसार र हाम्रो बक्रदृष्टि

शहरको एउटा हेयर कटिब सैलुनमा कपाल कटाउदै थिएँ, छ सात वर्षकी छोरीलाई हात समातेर सडकछेउ हुदै एकजना महिला आउछिन् र मैलै कपाल कटाइरहेको सैलुननेर रोकिन्छिन् । तत्पश्चात् सैलुनको ठूलो ऐनातिर देखाउँदै छोरीलाई भन्छिन् – ‘हेर यी ऐना ।’ सानी नानीले यताउता हेर्दै भन्छिन् – ‘कहाँ छ मामु ऐना ?’ अामाले कतिपटक देखाउदा पनि सानी छोरीले ऐना यही हो भनेर यकीन गर्न सकिनन् ।
उनले धेरै पटक आँखा तन्काएर हेर्दा पनि ऐना देखिनन् । उनले ऐनामा आफ्नो प्रतिविम्ब देखे पनि त्यो प्रतिविम्ब आफ्नो जस्तो नलागेर शहरमा हिँडिरहेका अरु मानिसहरुको जस्तो लाग्यो । उनलाई ठूलो ऐनामा देखिएको त्यो दृश्य प्रतिविम्ब जस्तो नलागेर वास्तविक शहर नै हो भन्ने महसुस भयो । यस्तैमा मैले अनुमान गरेँ, उनले यति ठूलो ऐना पहिलो पटक देखेकोले उनलाई यो ऐना हो भन्ने महसुस गर्न गाहे भइरहेको छ । उनले यताउता दृष्टि डुलाएर ऐना खोज्दै गरेको देख्दा मैले अनुमान गरेँ, उनी यहाँ पनि आफ्नै घरको जस्तो हातमा समातेर हेर्ने सानो ऐना खौज्दै छिन् । विचरा उनलाई यति ठूलो भित्ता नै ढाक्ने किसिमको ऐना हुन्छ भन्ने कुराको अहिलेसम्म बोध नै भएन ।
मलाई सानो छँदा पनि यस्तै लाग्थ्यो । बेसीदेखि अलि माथि रहेको सानो डाँडामा रहेको मेरो घरको छतमा गएर चारैतिर नियाल्दा गोलो घेरा हुने गरी चारैतिरबाट डाँडाकाँडा र चुरे एवम् महाभारत पर्वतहरुले मेरो धर्तीलाई घेरेको पाउँथे । त्यतिबेला त्यो डाँडाको पारीपट्टी के छ होला जस्तो पनि अनुमान गर्थेँ ।
फेरि आफैले निष्कर्ष निकाल्थेँ, त्यो भन्दा पारिपनि यस्तै डाँडाकाँडा र पहाडहरुले घेरेको छ होला । यस्तै अनुभवका कारण मलाई लाग्थ्यो कि सारा जगत नै यस्तै बेसी र डाँडाकाँडाहरुले घेरिएको होला । त्यसभन्दा अघि मलाई कसैले भनेको थाहा भएन कि यहाँ त डाँडाकाँडा मात्र नभएर खुला चौर र मैदानहरु पनि छन् । यो पनि कसैले भनेन कि संसारमा लेक र वेसी देख्न नपाएका मान्छे र बस्तीहरु पनि छन् । मलाई त त्यतिबेला लागिरह्यो, मेरो परिवेश नै मेरो विश्व हो । मैलै जे भोगिरहेको छु र जे देखिरहेको छु त्यो नै मेरो सर्वश्व हो । त्यतिबेला मेरो गाउँमा पानीको हाहाकार थियो ।
गाउका सवै मानिसहरु गाउको छेउमा रहेको कुवामा पालो पर्खेर गाग्रीमा पानी भरेर ल्याउथे । मलाई सवैतिर पानीको यस्तै हाहाकार छ जस्तो लाग्थ्यो । बुझ्दै जाँदा बोध भयो संसारमा जमीन भन्दा पानीको भाग तीन गुना बढि रहेछ । मानिसहरुले यो धर्तिमा डाँडाकाँडा नै नभएका समथर भूभाग पनि छन् भन्दा मलाई पत्यार लाग्दैनथ्यो । डाँडाकाँडा नभएर समथर भूभाग मात्र भए त्यस्तो ठाउँमा सूर्य कसरी अस्ताउछ होला ? त्यहाँ त सधैं उज्यालो भइरहन्छ होला र रात कहिल्यै पर्दैन होला भन्ने भावनाले प्रशिक्षित गरिरहन्थ्यो । बालसुलभ मस्तिष्कमा यस्तै यस्तै भावनाहरु ज्वारभाटा भएर हरबखत उठिरहन्थे । मलाई जस्तै सायद जीवनमा पहिलो पटक सहर घुम्न आएकी सानी नानीलाई पनि त्यस्तै लागेछ क्या रे, मम्मीले कति पटक भन्दा पनि सैलूनको भित्तामा रहेको त्यत्ति ठूलो ऐनालाई ऐना भनेर ठम्याउनै सकिनन् । कहाँ छ ऐना भनेर घरमै भएको जस्तो सानो ऐना यताउता आँखा डुलाएर खोजिरहिन् ।
जीवन र जगतको बारेमा सत्यतथ्य जानकारी नहुँदा मानिसको सोच र कर्मले समयसापेक्ष बाटो समात्न सक्दैन । उचित परामर्शको अभावमा हाम्रा कतिपय साना नानीहरुको जीवन र जगतप्रतिको दृष्टिकोण दृष्टिविहीनले हात्ती छामेर हात्तीको बारेमा निर्माण गरेको धारणा जस्तै भइरहेको छ । दृष्टिविहीनले हात्तीको पुच्छर छाम्दा हात्ती सर्प जस्तो, खुट्टा छाम्दा हात्ती रुखको फेदजस्तो, पेट छाम्दा हात्ती घरको भित्तो जस्तो र कान छाम्दा हात्ती नाब्लो जस्तो भएझँै हाम्रा नानीहरु जीवन र जगतको बारेमा अलमलमा परिरहेका हुन्छन् । उचित परामर्शकै अभावमा असल–खराव, राम्रो–नराम्रो, आफ्नो–विरानो, सद्व्यवहार–दुव्र्यवहार, नैतिक–अनैतिक आदिका बारेमा बालबालिकाहरु द्विविधामा परिरहेका हुन्छन् । यसले गर्दा जीवन र जगतप्रतिको वस्तुगत धारणा निर्माणमा उनीहरुलाई नकारात्मक असर परिरहेको हुन्छ र अन्ततः यसले उनीहरुको सिकाइ, जीवनप्रतिको दृष्टिकोण र जीवनशैलीमा समेत नकारात्मक किसिमबाट दीर्घकालीन असर छोडिरहेको हुन्छ ।
कहिलेकाही त हाम्रो सहजीकरण, परामर्श र प्रशिक्षण जस्तो हुनु पर्ने हो त्यो भन्दा उल्टो भइरहेको हुन्छ । हामीले बालबालिकालाइ पढेर ठूलो पदमा जागीर खाने, धेरै सम्पत्ति कमाउने जस्ता कुरा गरिरहेका हुन्छौं । त्यसरी नै उनीहरुलाई आशिर्वाद दिइरहेका हुन्छौं । हामी भन्दैनौं कि ठूलो पदमा जागीर खाएका मानिसभन्दा यो मानव बस्तीमा अरु मानिस पनि असल छन् भनेर । हामी यो पनि भन्दैनौ कि धेरै पढेर जागीर खाएका भन्दा पढेर आत्मनिर्भर भई उद्यमशीलताको सिर्जना गरेका मानिसहरुले देश र समाजको समुन्नतिका लागि राम्रो योगदान गरिरहेका छन् ।
बरु हाम्रो जस्तो देशमा ठूलो पदमा बसेर ठूलो जागीर खाएका मानिसहरुबाट समाज र देश थिलथिलो भइरहेको हुन्छ । उनीहरु समग्रमा समाज र देशको स्वार्थ र हित भन्दा पनि आफ्नो स्वार्थ, हित र उन्नतिका पक्षमा वकालत गरिरहेका हुन्छन् । जागिर र पदमा भएका कर्मचारी र शिक्षकहरुले बेलाबेलामा देशका सामू उठाउने गरेका विभिन्न माग र असन्तुष्टीको विश्लेषण गर्दा यो कुराको सहजरुपमा अनुमान गर्न सकिन्छ । बालबालिकाहरु बुझ्ने हुदै गएपछि हामी उनीहरुलाई क्रमशः बुझाउँदै जान्छौं कि यो हाम्रो घर हो, यो हाम्रो मानिस हो, यो हाम्रो धर्म हो र यो हाम्रो जात हो आदि आदि ।
त्यसरी नै हामी उनीहरुलाई यो पनि बुझाउदै जान्छौं कि त्यो अरुको घर हा,े त्यो अरुको मानिस हो, त्यो अरुको धर्म हो र त्यो अरुको जात हो । हाम्रो र अरुको संसार यसरी विभाजित हुने क्रममा त्यसमा पनि अझ विशेष गरी हाम्रो भन्ने कुरा मेरोमा परिवर्तन बनाउनका लागि बालबालिकालाई प्रशिक्षण दिदै अघि बढ्ने क्रममा उनीहरुको फराकिलो हुनु पर्ने संसार क्रमशः खुम्चिदै जान्छ । एउटा घरको एउटा ठूलो कोठा विभिन्न भागमा बाँडेर ससाना कोठा बनाए जस्तै मानिसहरुको जीवन र जगत पनि विभिन्न जात, भाषा, सम्प्रदाय, लिब्ग र तेरोमेरोको पर्खालहरु ठड्याएर खण्डित बनाउँदा मानिसका अन्य कुराहरु लगायत उसका खुसी र प्रशन्नताहरु पनि खुम्चिदै जान्छन् । सानी नानीकी आमाले ऐना त ठूलो पनि हुन्छ भन्ने कुरा नसिकाए जस्तै कुनै पनि पर्खाल नभएको विशाल संसार खुशी र प्रशन्नताको हिसावले पनि विशाल हुन्छ भन्ने कुरा सिकाउन सकिरहेका छैनौं, बरु उल्टै मेटाउनतिर उद्यत भइरहेका छौं । जीवनमा कतिबेला कसले बैरीको भूमिका निर्वाह गर्ने हो र कतिबेला कसले मित्रको भूमिका निर्वाह गर्ने हो भन्ने कुरा यसै भन्न सकिने स्थिति छैन । मानिस बाटोमा दुर्घटनामा पर्दा कुनै अपरिचित व्यक्तिले उद्धार गरिरहेको हुन्छ भने हरेक हिसावले आफ्नो भनेको व्यक्ति कुनै पार्टी र पिक्निकमा झुलिरहको स्थिति हुन्छ ।
हामीले जसलाई आफ्नो भनेर जीवनभर आफन्तको ट्याग लगायौं, कतिपय सवालमा उनीहरुबाटै दुस्मनीको भूमिका निर्वाह गरेर जीवन समाप्त पार्ने सम्मका हरकतहरु भइरहेका हुन्छन् । पति–पत्नी, दाजुभाइ, बाबु–छोरा, इष्ट–कुटुम्ब आदि अनन्य आफन्तका परिचायक हुन तथापि उनीहरुकै बीचमा रक्तपातपूर्ण लडाइ र युद्धहरु भइरहेका हुन्छन् । यसरी हामीले ठड्याएका आफन्त र पराइका पर्खालहरुले यथार्थमा आफन्त र पराइहरु छुट्याउन सकिरहेका छैनन् । तथापि हामीले हाम्रा बालबालिकाको फराकिलो संसारलाई साँगुरो बनाउने क्रममा यस्ता पर्खालहरु उठाउन छोडेका छैनौं, बरु निरन्तर रुपमा त्यस्ता पर्खालहरु चुलिने गरी पाठ घोकाइरहेका छौं । शिक्षाको विश्वव्यापी ब्याख्याले शिक्षाका ४ खम्बा भनेर जान्नको लागि सिकाइ , कामका लागि सिकाइ, व्यक्तित्व विकासका लागि सिकाइ र विश्वबन्धुत्वको भावनाका लागि सिकाइ भनेर परिभाषित गरेका छ । हाम्रो सिकाइ भने यस अनुरुप भइरहेको देखिदैन ।
हामी सिकाइ रहेका छौं कि धेरै पढेपछि बसीबसी खान पाइन्छ, काम गर्नु पर्दैन । पढेलेख ेकै मानिसहरुबाट विश्वबन्धुत्वको भावनामा चोट पार्ने हरकतहरु भइरहेका हुन्छन् ।
उनीहरुले गरेका सूक्ष्म विश्लेषणहरुबाट एउटा मानिस अर्को सँग कसरी समान र नजीक छ भन्ने कुराको विवेचना हुनु पर्नेमा एउटा मानिस अर्कोसँग कसरी भिन्न र टाढा छ भन्ने कुराहरुको बखान भइरहेको हुन्छ । यसले मानिसलाई हरेक हिसावले दुःखी र विपन्न बनाउन सहयोग गरिरहेको छ र मित्रता भन्दा बैरभाव बढाउने काम गरिरहेको छ ।
म त भन्छु, बालबालिकालाई जीवन र जगतको बारेमा यथार्थ जानकारी दिने हो र उनीहरुलाई चाहे जस्तै सुखी र प्रशन्न बनाउने हो भने आजभन्दा २५०० वर्ष अघिको शिक्षालाई समेत अध्ययन गर्नु पर्ने आवश्यक देखिन्छ । त्यतिबेला गौतम बुद्धले शिक्षाका महत्वपूर्ण ३ उद्देश्यको रुपमा ज्ञान ( जानकारी) प्राप्त गर्नु, शील (आचरण) को उत्थान गर्नु र समाधी (खुशी वा एकाग्रता) प्राप्त गर्नु भनेका थिए । उनका अनुसार संसारको बारेमा स्पष्ट र बस्तुगत दृष्टिकोण बनाउनु पर्दछ, असल स्वभाव र आचरणको विकास गर्नुपर्दछ र अन्ततः योग र ध्यानको माध्यमबाट चारैतिर भौतारिरहेको मनलाई एकाग्र गरी खुशी बनाउन सक्नुपर्दछ ।
अतः मेरो अनुरोध, सकिन्छ बालबालिकालाई उनीहरुको संसार फराकिलो हुने गरी शिक्षा दिऔं, सकिदैन भने उनीहरुको भएको संसारलाई खुम्च्याउनतिर कसैले हरकत नगरौं । जुन मानिस देखे पनि आफ्नो सम्झिने बालापनलाई आफ्नो र पराइ मानिसको ट्याग लगाएर खण्डित गर्न बन्द ग¥यौ ं भन े उनीहरुको संसार त्यसै पनि फराकिलो हुँदै जान्छ । सबैलाई चेतना भया ।
