२०८३, १७ असार बुधबार

सिस्नुको चाउचाउ खाने ? कर्णाली एक्स्पोमा आउनुस्

सुर्खेत।
कर्णाली प्रदेशको राजधानीमा फागुन ६ गतेदेखि लागिरहेको कर्णाली एक्स्पोमा सिस्नुको चाउचाउ विक्री भइरहेको छ । स्टल नम्बर ५७ मा हुम्लाको सिमिकोट गाउँपालिकामा सुवर्ण सिमिकोट खाद्य उद्योगले उत्पादन गरेको चाउचाउ विक्रीमा राखिएको छ ।

एक सय रुपैंया मूल्य तोकिएको उक्त चाउचाउ सुर्खेतमा पहिलो पटक विक्रीका लागि ल्याएको युवा उद्यमी उपेन्द्र रोकायाले जानकारी दिएका छन् । दश वर्ष अगाडी सिमिकोटमा कर्णालीका अर्गानिक उत्पादनलाई खाद्य वस्तुमा रुपान्तरण गर्ने र विक्री वितरण गर्ने उदेश्यका साथ खोलिएको उक्त उद्योगमा विभिन्न खाद्य परिकारहरुको उत्पादन भइरहेको रोकायाको भनाई छ । ‘सिस्नुको पाउडर, विस्कुट, चाउचाउ पनि बनाएर विmी गरेका छौं ।’ उनले भने, ‘अन्य चाउचाउ जस्तै पकाएर यसलाई खान सकिन्छ । अर्गानिक भएका कारण यसको मूल्य एक सय रुपैंया प्रति प्याकेट राखेका छौं ।’

विज्ञान संकाय लिई आइएस्सी अध्ययन गरेका उपेन्द्र अहिले २९ वर्षका भएका छन् । वार्षिक रुपमा उद्योगले ६० लाख भन्दा बढीको कारोवार गर्दै आइरहेको बताउने रोकायाले कम्तिमा पनि १६ लाख जति शुद्ध मुनाफा गरिरहेको बताए । ‘विभिन्न जडिबुटीबाट गुणस्तरीय तेल पनि उत्पादन गर्दै आइरहेका छौं । हुम्लामा पाँच सय रुपैंयाको लिटरका दरले विक्री गर्छौं भने काठमाडौंमा एक हजार रुपैंया पर्न जान्छ । चुली, ढोटेलोजस्त ाबनस्पतिबाट तेल उत्पादन गर्दै आइरहेका छो. ।’ उनले भने, ‘यसका अलावा हामीले उद्योगबाट फापरको विस्कुट, पिठो, हर्लिक्स, जौ को हर्लिक्स, पोषण पिठो, पोषण सातु, मिठो फापरको केक, कुकिज, चिनोको विस्कुट, पोषण सातुजस्ता परिकारहरुको उत्पादन गर्दै आइरहेका छौं ।’

सडक यातायातको सहज पहुँच नभएको र जहाजबाट बाहिर पठाउनुपर्ने भएका कारण हुम्लामा उत्पादित खाद्य बस्तु महंगो लाग्ने गरेको उनको भनाई छ । ‘मैले पाँच जनालाई पूर्ण रोजगारी दिएको छु । केहि व्यक्ति ज्यालादारीमा पनि कहिलेकाहि काममा लगाउने गरेको छु । पोखरा र काठमाडौं हाम्रो मुख्य बजार हो । जहाजबाट लैजाँदा केहि महँगो पर्ने गरेतापनि पूर्ण रुपमा अर्गानिक उत्पादन भएका कारण बजारमा माग बढिरहेको छ ।’ उनले भने, ‘तरपनि भनेजति पुर्याउन सकिएको छैन ।’

उनले सुर्खेतमा व्यापार गर्न र लगानी गर्न केहि वर्षपहिले सोचेपनि यहाँका केहि व्यक्तिले सात लाख भन्दा बढी रकम डुवाइदिएका कारण सुर्खेत फर्केर नआउने सोचेतापनि आउन कर गरिएको उनले बताए । ‘मेरो यहाँ केहि वर्ष पहिले केहि व्यक्तिले सात लाख भन्दा बढी रकम दुरुपयोग गरिदिएका थिए । त्यसपछि यहाँ नआउने भनेपनि अहिले घरेलु कार्यालय हुम्लाले जान भनेर कर गरेपछि यहाँ आएको हुँ । व्यापार राम्रै भइरहेको छ ।’ उनले भने, ‘सरकारले अर्गानिक उत्पादनलाई प्राथमिकता दिने भनेको सुनेको थिएँ । लगानी बढाउन सकेको खण्डमा यसलाई थप गुणस्तरीय बनाउन सकिन्थ्यो ।’

प्रदेश सरकारले हालसम्म दिएका अधिकांश अनुदान कार्यकर्ता मूखी भएको आरोप लगाए । ‘काम गर्ने र खानेलाई अनुदान दिइदैन । दश वर्ष देखि मैले बैंकबाट चर्को व्याजमा ऋण गरेर उद्योग चलाइरहेको छु ।’ उनले भने, ‘टाठा बाठा र पहुँचवालाले मात्रै अनुदान लिएका छन् । उनीहरुले न त उत्पादन गरेका छन् न त अन्य कुनै सहि स्थानमा लगानी गरेका छन् ।’ उनले हालसम्म आफू जस्ता हुम्लाका उद्यमीले सरकारबाट एक सुको पनि सहयोग नपाएको बताए ।