दैलेखको आठबीसमा एक सय शैयाको ट्रमा सेन्टर बनाइने, एक हप्तामा राकममा एमविविएस डाक्टर !
सर्खेत, १० फागनु ।
सुर्खेत जुम्ला सडक खण्डको बीच भागमा पर्ने आठबीस नगरपालिका वडा नं. ४ राकम कर्णालीमा एक सय शैयाको ट्रमा सेन्टर बनाउन भन्दै नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबीच शनिबार १३ बुंदे सम्झौता भएको छ । यो संगै राकम कर्णालीमा बढिमा डेढ हप्ता भित्र एमविविएस डाक्टरले विरामीको उपचार गर्न सुरु गर्ने भएका छन् । सम्झौतापत्रमा आठबीस नगरपालिकाका तर्फबाट नगरप्रमुख खड्गराज उपाध्याय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तर्फबाट निर्देशक धर्मराज गोसाइंले हस्ताक्षर गरेका हुन ।
सम्झौता पत्रमा एक सय शैयाको ‘ट्रमा सेन्टरको अस्पताल निर्माणको लागि नगरपालिका र प्रतिष्ठानबिच समन्वय र सहकार्य हुनुपर्ने बताईएको छ । अस्पताल निर्माण र सञ्चालन हुँदा दुई पक्षबीच शर्तहरुको पालना गर्नुपर्ने गरि सम्झौता भएको हो ।
दुई पक्षको सम्बन्ध विस्तार हुँदै सहकार्य गर्ने, प्रदेश सरकार र संघीय सरकार सँग समन्वय गरि दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने, सर्वसुलभ विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता भएको नगर–प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । उनका अनुसार ‘एक्सरे मेसिन, ल्याव, लगाएतका सामाग्रीहरु र डाक्टरहरुको फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्ने भएको छ भने प्रतिष्ठानले डाक्टर र तलवको व्यवस्थापन गर्ने छ ।
‘अस्पतालको लागत ईष्टमेटसहितको डिपीआर नयाँ शहर आयोजनाले गर्नेछ ।’ प्रमुख उपाध्यायले भने, ‘शिक्षण अस्पताल निर्माण भई सञ्चालनमा आए अछाम, दैलेख, कालिकोट लगाएत जिल्लाका नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरेका छौं ।’ नगरपालिकाले अस्पतालका लागि ‘राकम कर्णालीमै १०५ रोपनी सार्वजनिक जग्गा गत माघ २६ गतेको नगरसभाबाट कुन्टा भन्ने स्थानमा नाममा गरिदिन नेपाल सरकारसँग माग गरि आवश्यक निर्णय पठाइसकिएको उनको भनाई थियो ।
उनका अनुसार २५ शैयाको ट्रमा सेन्टरका लागि संघीय सरकारले स्वीकृति दिइसकेको छ भने थप आवश्यक बजेटका लागि प्रदेश सरकार र संघीय सरकारसँग माग गर्ने योजना बनाइएको छ । ‘अबको बढिमा डेढ हप्ता भित्र जुम्लाबाट प्रतिष्ठानले एमविविएस डाक्टर पठाइसक्नेछ र स्वास्थ्य चेकजाँच सेवा सुरु हुनेछ ।’उनले भने, ‘डाक्टर आइसकेपछि अत्यावश्यक ल्याव सेवा तथा भिडियो एक्सरे मेसिनसहितका सामाग्रीहरुका लागि हामीले आवश्यक बजेटको व्यवस्था गरिसकेका छौं । यस क्षेत्रका आम नागरिकको स्वास्थ्य क्षेत्रको अवस्था सुधार गर्न आवश्यक रकम लगानी गर्न हामी तयार छौं ।’
सेन्टर बनेपछि कर्णाली राजमार्गमा हुने विभिन्न दुर्घटनाबाट हुने मानवीय क्षति कम हुने विश्वास नगरपालिकाको रहेको उपप्रमुख दिपा बोहोराले जानकारी दिइन । उनका अनुसार दैलेखको पश्चिमी क्षेत्र, कालिकोट र अछामको पूर्वी क्षेत्रका लाखौं जनता ट्रमा सेन्टरबाट लाभान्वित हुनेछन् । ‘पाठेघर खसेका महिला देखि बालक, बृद्धसम्मका लागि सामान्य देखि अन्य उपचार राकम कर्णालीमा हुने भएको छ ।’ उनले भनिन, ‘यसबाट यहाँका जनताले सुपथ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनुका साथै आर्थिक मारमा पर्नबाटसमेत जोगिने हाम्रो विश्वास छ ।’

