खुलामञ्चको पर्खाल समयभन्दा अगावै सम्पन्न हुने
कर्णाली प्रदेशमा भौतिक संरचना निर्माणमा चरम ढिलासुस्ती गरेको समाचारहरु हामीले पढ्दै तथा सुन्दै आइरहेका छौं । राजमार्गमा दर्जनौं पुल अलपत्र परेका, सरकारी भवनहरु लथालिंग छोडिएको, कामै नगरी ठेकेदार भागेको भन्ने समाचार सुन्न हामी बानी नै परिसकेका छौं ।
तर वीरेन्द्रनगरमा एक ठेकेदार कम्पनीले समयावधी भन्दा पहिले नै काम सम्पन्न गर्न लागेको छ । खुलामञ्चको वरिपरि करिब ७०० मिटर लम्बाई, ६० इन्चको सोलीड पर्खाल तथा पाँच फिट अग्लो फलामको बार लगाउने ठेक्का पाएको मजदुर कन्स्ट्रक्सनको काम ७० प्रतिशत भन्दा बढी सकिएको छ ।
नगरपालिकाका इन्जिनियर विशाल अधिकारीका अनुसार फालामको बार पनि तयार भइसकेको छ भने उक्त बार जोडन मात्रै बाँकी रहेको छ । लागत स्टिमेट एक करोड ८० लाख रहेको उक्त पर्खाल नगरपालिकाले आफ्नै श्रोतमा निर्माण गरिरहेको हो ।
‘निर्धारित समयभन्दा अघि नै निर्माण कम्पनीले काम सम्पन्न गर्न थालेको छ,’ भदौ दुई गतेदेखि निर्माण कार्य सुरु गरेको कम्पनीले माघको आसपाससम्म काम सकिसक्ने भन्दै इन्जिनियर अधिकारीले भने, ‘ठेकेदार कम्पनीले काममा तीव्रता दिइरहेको छ ।’
खुलामञ्चलाई किन घेरबार गरियो भन्ने प्रश्नमा संरक्षण गर्न भन्ने जवाफ नगरउपप्रमुख मोहनमाया ढकाल बताउँछिन । ‘विगतमा खाली जग्गा अतिक्रमण गर्ने, हडप्ने, जथाभावी पसल थाप्ने र नगरपालिकालाई हटाउन झन्झट हुने गरेको छ,’ उनले भनिन, ‘त्यो समस्याबाट सधैंका लागि छुटकारा पाउन हामीले खुलामञ्चको घेरबार गर्न लागेका हौं ।’
सार्वजनिक जग्गाको संरक्षण गर्दा भविष्यमा फाइदा पुग्ने बताउँदै नगरपालिकाले यस्तो निर्णय गरेको उनको भनाई छ । ‘भविष्यमा बजेट भएको खण्डमा यसलाई पार्क बनाउने योजना हाम्रो छ, ‘उपप्रमुख ढकालले भनिन, ‘शहरीकरण बढदै गएकाले पार्कमा आइ रमाउने, मर्निंग वाक गर्ने, रमणीय पाक बनाउन सकिन्छ । जग्गा नै नबचे के मा बनाउनु पार्क ?’
