ट्राफिक जामदेखि संघीयता जामसम्मको अनुभूति
गौशाला चोकबाट चावहिल चोक पुग्न पूरापूर एक घण्टा लाग्यो । स्क्याभेटर, ट्रक, ट्रयाक्टर, बस, जीप, कार, ट्याक्सी र मोटर साइकलहरुको ठ ेलमठेल भीड थिया े । ट्राफिक प्रहरी हष्याङफस्याङ गरेर सिट्ठी फुक्दै दौडिरहेको देखिन्थ्यो । यस्तैमा सपिङको लागि बौद्धमा पर्खेर बसिरहेकी छोरीको फोन लगातार आइरहेको थियो मलाई । मेरो विलम्बको कारणले छोरीलाई अत्यास लागिसकेको थियो ।
अत्यास मात्र होइन, मप्रति अविश्वास पनि जागिरहेको थियो । छोरी भन्दै थिइन, ‘हैन, हजूरलाई गौशालाबाट चावहिल पुग्न पनि यति समय लाग्छ त ? कि बाबाले मलाई त्यत्तिकै गफ दिएको हो ? जवाफमा मोवाइलमा गाडीहरुका हर्न सुनाउदै जाममा भएको कुराको सवूत प्रमाण पेश गर्दै थिएँ छोरीलाई । साँच्ची छोरीलाई जति अत्यास लागिरहेको थियो, त्यो भन्दा पनि बढि अत्यास मलाई लागिरहेको थियो छोरी भएको ठाउमा समयमा पुग्न नसकेकोमा । ठेलमठेल गाडीभित्र त्यहि किसिमले रहेका मानिस सवैलाई त नभनौं अधिकांशलाई मेरो जस्तै त्यत्तिकै अत्यास लागिरहेको थियो । समयको ख्याल गरी यो समयमा यहाँ पुग्छु भनी हिडेका हरेक मानिसका योजनाहरु चकनाचूर भएका थिए ।
कतिपय बृद्धबृद्धा र विरामीहरुको अवस्था दयनीय थियो । स्कूटरमा आवतजावत गर्ने र घरमा सवैरै पुगेर भान्साको काम गर्ने उद्देश्यका साथ हिडेका गृहिणी महिलाहरुको बाटोमा साँझ परिसकेको थियो । साँच्ची के भएको हो ? मैले पनि बुझ्न सकिन । सद्वीउ छर्ने मानिसको कारणले भीडभाड र जाम भएको जस्तो पनि सुनियो । तथापि कतै पनि पैदल यात्रीको कारणले भीडभाड भएको देखिएन । गौशालादेखि चावहिलको दूरी अनुमानित २ किलोमीटर होला । हिडेर पनि २० मीनेटमा पुग्ने ठाउमा गाडीमा चढेपछि १ घण्टा नभइ नपुग्ने हो भने मन बुझाउने कसरी होला ? मन बुझाउन नसकेरै होला, जाममा परेका हरेक नागरिकहरु क्रुद्ध थिए धेरैमात्रामा ठूलाबडाहरुसँग र केही मात्रामा आफैसँग पनि । म चढेको ट्याक्सीको ड्राइवर आक्रोश पोख्दै थिए यसरी – ‘काठमाण्डौं हत्यारा, चोर, फटाहा, दलाल, अपराधी र दुई नम्वरी धन्दा गर्ने मानिसहरु बस्ने ठाउँ हो ।
ठूलाबडा झण्डावाल गाडी चढ्नेहरुलाई ट्राफिक जामको महसुस नै हुदैन । उनीहरु कि त आवतजावत गर्दा बाटो खालि गरेर हिड्छन् कि त हवाइमार्गबाट हिड्छन् । हामी मजदूरी गरेर खानेलाई भने सास्ती छ । यसरी जाममा पर्ने हो भने ट्याक्सीको साहुलाई के दिने हो ? आफूले के खाने हो ? कोठाभाडा कसरी तिर्ने हो ? छोराछोरी के गरी पढाउने हो ? महंगीमा हातमुख जोर्ने के गरी हो ? मनमा यस्तै यस्तै तर्कना गर्दै कोठाभित्र पसें । मलाई त लागेको थियो, अव देश सात प्रदेश र सातसय त्रिपन्न स्थानीय सरकारमा बाँडिएपछि काठमाण्डौंको भीडभाड घट्नेछ । तथापि घटेन । बरु झन बढ्यो । मैले त अनुमान गरेको थिएँ, सिंहदरवार अव गाउँगाउँमा गएपछि गाउँका मानिस पो किन आउछन् र यहाँ ? अनि त भीडभाड र ट्राफिक जाम हुने त कुरै भएन । तथापि मेरो अनुमानले हावा खाएछ । यसरी मेरो अनुमानले हावा खानुको कारण के हो त भनी खोजी गर्दै जाँदा संघीयता नै ट्राफिक जाममा परेको पो ठहर भयो । गाउँ र प्रदेशतिर जाने भनेर यात्रा गरेको संघीयता काठमाण्डौंबाट बाहिर निस्कनै सकेको रहेनछ । यस्तो किन भएको हो, त्यो भरि राम्रोसँग थाहा छैन, यहीका खाल्डाखुल्डीमा फसेर हो वा यही खाल्डोका मानिसहरुसँग संघीयताको माया बसेर हो । कारण जे भए पनि संघीयताले काठमाण्डौ उपत्यका भन्दा बाहिर जान नसकी यतैकतै जाममा परेको कुरा भने साँचो हो ।
काठमाण्डौंको केन्द्रीय सरकार आफ्ना ऐन कानूनहरु नबनाई बसेको दुईवर्ष नाघिसकेछ । प्रदेश सरकार र स्थानीय सरकारहरुले ऐनकानून बनाएर कार्यान्वयन गर्दा पनि न्यायालयले त्यसलाई स्वीकार नगर्दोरहेछ । बाबुभन्दा छोरो जान्ने जस्तो ब्याख्या हुँदोरहेछ । अर्को शब्दमा केन्द्रको अनुमति, आदेश, स्वीकृति, निर्देशन आदि के के हो चाहिदो रहेछ । यसरी केन्द्रीय सरकारले बाटो नखोलेर जाम गरिदिएपछि अरु सरकारको पनि काम नहुदो रहेछ । त्यसकारण पनि शौचालय देखि पिङसम्मको उद्घाटन गर्ने कार्यक्रमहरुमा ब्यस्त हुँदा रहेछन् प्रदेश र स्थानीय सरकारका मान्छेहरु । यसका साथै समय मिलाएर हप्तामा होस वा महिनामा कार्यक्रम मिलाएर संघीय सरकारसँग सामिप्यता कायम गर्न काठमाण्डौतिर धाउदा रहेछन् प्रदेश सरकार र स्थानीय सरकारका मान्छेहरु । अलि ठूलाबडाहरुले त एउटा गाडी आफ्नै सरकार भएको तिर र अर्को गाडी संघीय सरकार भएको तिर राख्दा रहेछन् ।
अलि सानाले भने आफ्नो सरकारतिर भएको गाडी कुदाएर केन्द्रीय सरकार भएको तिर ल्याउदा रहेछन् । सरकार गाउतिर, सरकारका मान्छेहरु भने मिलाई मिलाई हप्ता दश दिनमा काठमाण्डौंतिर भए पछि ट्राफिक जाम कम हओस पनि कसरी ? विचरा सरकार भनेर मात्र के गर्ने साधन स्रोत हुनु प¥यो । काम गर्ने जनशक्ति हुनु प¥यो । कार्यकारी प्रमुखको रुपमा रहेका प्रमुख सचिव, सचिव र प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले पठाउछ । कतिपय सरकारलाई त्यही पनि पठाइदिएको छैन । कानून बनाउने अधिकार त छ तर बाटो खुलेको छैन । कर्मचारी नभएर विजोग छ । साधन स्रोतका त झन कुरै टाढा छ । हरेक कुराको लागि संघीय सरकारको मुख ताक्नु पर्ने देखिन्छ । परिदृश्य यस्तो भएपछि भेटघाट चाहे कामको निम्ति होस वा चाकरीका निम्ति नगरी भएकै छैन । त्यसकारण पनि काठमाण्डौंको जाम नघटेको कुरा बुझ्नमा आएको छ । संघीयताको मर्म अनुसार कानूनहरु नबनेको अवस्था भएपछि विकेन्द्रिकरणको अवधारणा अनुरुप बनेका ऐनकानूनहरु पनि निष्क्रिय भएछन् क्या रे । पहिले कुनै नयाँ सरकारी कार्यालय स्थापना गर्नुप¥यो भने त्यसको कोड नम्बर जिल्लामै रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले दिने गथ्र्यो । अहिले त्यो अधिकार अर्थ मन्त्रालयतिर आएछ । अर्थ मन्त्रालयले एउटाको मात्र हुदैन, लटमा गर्नुपर्छ भन्दोरहेछ । यो पाराले त नयाँ स्थापना भएका कार्यालयहरुले पनि केही हप्ता काठमाण्डौंतिर डेरा जमाएर बस्नुपर्दो रहेछ । संघीयता लागू गर्ने अर्थ मन्त्रालयको यो मोडल पनि राम्रै रहेछ ।
यसैले पनि संघीयताका साथसाथै ट्राफिक जाम पनि बढेको कुरामा ढिलै भए पनि यो पङितकारको घैटोमा घाम लागेको छ । स ंघीयताका शैली पनि कस्ता क स्ता बुझिनसक्नुका । कक्षा १०, ११ वा १२ मा अध्ययन गर्ने क्रममा हुम्लाको कुनै विद्यार्थीको मार्कसीट वा ग्रेडसीटमा त्रूटी देखियो भने पनि विचरा त्यो विद्यार्थी संघीय राजधानीतिर धाउनै पर्छ । त्रूटी ठूलो हुनु पर्दैन । अङ्ग्रेजीमा चौधरी लेख्दा अन्तिम अक्षर आइ हुनु पर्नेमा वाइ भयो भने पुग्यो । त्यसले केन्द्रमा आउनै पर्छ । आएपछि सात दिन लाग्छ त्यो तयार हुन । त्यसका लागि बस्नु पर्छ । यसरी हुम्लाबाट आउदा जाँदा त्यो बबुरो विद्यार्थीको कति खर्च लाग्छ ? त्यो खर्च कताबाट जुटाउछ ? यो कसैको निम्ति चासो र सरोकारको विषय हुन सकेका ैन । थाहा छैन यौटा अल्फाबेट सम्म सच्याउन पनि केन्द्रमा आउने हो भने अरु सरकारहरुको काम के हो ? संघीयताको मर्म के हो ? गाउँगाउँमा गएको सिंहदरबारको भूमिका के हो ? धरोधर्म बुझ्नै सकिएको छैन । यसकारण पनि काठमाण्डौंको ट्राफिक जाम घट्ने सम्भावना अझै देखिदैन । गाउँगाउँमा गएको सिंहदरबारले शिक्षालाई त हेर्ने भ्याएको देखिदैन । कतिपयले चासो राख्दा केन्द्रले दिल खोलेर अधिकार दिन नमानेको महसुस गरेर पछि हट्न बाध्य भए । अरु केही गर्न नपाएपछि विचरा गाउँगाउँमा गएका स्थानीय सरकारहरुले अनुमति बाड्दै हिडेको देखिन्छ । कक्षा ११ को अनुमति पाउन साहृै सहज भएको छ । चिट्ठी लेखे पुगिहाल्छ । पूर्वाधार पूरा गर्नै पर्दैन । कक्षा १० को नतीजा शुन्य भए पनि कक्षा ११ को अनुमति पाउन बाधा पर्दैन ।
तल्लो तहमा दरबन्दी नभए पनि केही फरक पर्दैन । माग्न सक्नु प¥यो, जे फ्याकल्टी र जे विषयको पनि पाइन्छ । यति भए पछि शिक्षामा गुणस्तरको कुरा त कागजमा सीमित हुने कुरा कत्ति पनि अस्वाभाविक भएन । त्यसकारण पनि गुणस्तरीय शिक्षाका निम्ति चासो राख्ने किसिमका विद्यार्थी र अभिभावकहरुलाई गाउँगाउँमा गएका सिंहदरबारहरुले आफूतिर तानेर गाउमै अड्याउन नसकेको अवस्था छ । त्यसकारण पनि जामको झमेला चर्को हुदै गएको देखिन्छ काठमाण्डौंमा । रोजगारीको सिर्जना गर्नेतर्फ पनि सरकारहरुले सोच्नै भ्याएका छैनन् । त्यही भएर विदेश जाने नेपालीहरुको हरेक दिन ताँती नै हुन्छ काठमाण्डौंमा । त्यसका लागि म्यानपावर धाउने लगायतका कामका लागि पनि काठमाण्डौं नआएर सुखै छैन । मलाई त लाग्छ, हाम्रा सरकारहरुले त्यस्ता केही काम गरे जस्तो लागेको छैन, जुन कामका कारणले नागरिकहरुलाई काठमाण्डौंमा आउन नपरोस् । बरु नागरिकहरुले आफ्नै पहलमा अटो रिक्सा चलाएर गाउँगाउँमा सेवा सुविधाको पनि विस्तार गरेका छन् र रोजगारीको पनि सिर्जना गरेका छन् ।
सरकारी तवरबाट रोजगारी सिर्जना गर्नेतर्फ सातसय एकसट्ठी वटै सरकारले रोजगारीको नाउमा माखो मार्न नसकेको अवस्था छ । त्यसकारण पनि रोजगारीका लागि बेरोजगार मानिसहरु विदेश जाने क्रममा आउने भएकाले पनि काठमाण्डौंको ट्राफिक जाम बढेको देखिन्छ । सारमा भन्नुपर्दा पिडित पक्षले दिल खोलेर पिडकको गुनगान गाउन सक्दैन । ट्याक्सी ड्राइवरले भनेका कुरा पनि यसैका परिणाम हुन र उनले भनेका कुरा सवै असत्य पनि होइनन् । त्यत्तिमात्र नभइ ट्राफिक जाममा सहयोग पुग्ने गरी अहिलेका जनप्रतिनिधिहरुले गाडी सुविधाको उपभोग गरेको कुरा पनि सवैलाई छर्लङ्गै छ । केन्द्रीय सरकारले दुई वर्षको बीचमा कानूनहरु बनाउने काम नगरी संघीयतालाई नै जाममा पारेको कुरा झनै सवैका सामू स्पष्टै छ ।
समायोजनले कर्मचारी– हरुलाई नागरिक पनि होइनन् जस्तो गरी गलहत्याएको पनि कतै नछिपेको कुरा जगजाहेर छ । शिक्षाको गुणस्तर बढ्नुको सट्टा कुहिरोको काग जस्तैगरी रुमल्लिएको अवस्था छ । बेरोजगारी घट्नुको सट्टा बढ्दो छ । यी सवै चूनौतिलाई आत्मसात गर्दै प्रथमत जाम भएका मष्तिष्कहरुलाई सिर्जनशील बनाउन जरुरी छ । अर्थात सवै जामहरुको समस्याको जड भनेको मष्तिष्कको जाम हो । मष्तिष्कहरु सिर्जनशील र चलायमान भएमात्र संघीयताको जाम खुलेर देश गतिशील हुन सक्छ । त्यसपछि ट्राफिक जाम लगायत विकासविरोधी सवै जामहरुले कुलेलम ठोक्ने कुरामा विश्वास गर्न सकिन्छ । सवैलाई चेतना भया ।
