२०८१, १ कार्तिक बिहीबार

बीमा सरकारको ‘ड्रिम प्रोजेक्ट’

कर्णाली प्रदेश सरकारले एउटा ठूलो ‘ड्रिम प्रोजेक्ट’का रुपमा बीमा कार्यक्रम अगाडि सारेको छ ।

कर्णाली प्रदेशका सबै नागरिकहरुका लागि गरिएको यो काम वास्तवमै एकदम ठूलो काम हो । कर्णाली प्रदेश सरकारले १७ लाख ७० हजार जनता तथा १० हजार घरको बीमा गरेसँगै अब सानातिना समस्या र दुर्घटनाबाट नागरिकले केही भए पनि राहत पाउनेछन् ।

बीमाबापत् प्रदेश सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच एक करोड ७३ लाख ९० हजार रुपैयाँ खर्च भएको छ ।

तर यसको प्रभाव भने एकदम ठूलो हुने देखिन्छ । यस प्रदेशअन्तर्गत प्रदेशमा रहने सबै नागरिकहरुको विपद्को कारणबाट हुने दुर्घटनाको विरुद्ध सामूहिकरुपमा दुर्घटना बीमा गरिनेछ ।

यसका लागि प्रदेश सरकारले सम्पूर्ण कर्णाली प्रदेशवासी ( १७ लाख ७० हजार) नागरिकको बीमा गरेबापत् प्रति नागरिक रू. ७ का दरले रु. १ करोड २३ लाख ९० हजार रुपैयाँ र सोमा लाग्ने टिकटबापत् रु. २० समेत एकमुष्ठ भुक्तानी गर्ने गरी बीमा गरिएको छ ।

यसमा नागरिकले कति पैसा तिर्छन् या सरकारले कति तिर्छ भन्ने कुरा दोस्रो कुरा हो तर कम्तिमा नागरिकले थोरै भए पनि राहत पाउनेछन् । केही फेसबुकमा आलोचना मात्रै गरिरहने र नकारात्मक टिप्पणी गर्नेहरुका लागि त यो कार्यक्रम खास हुँदैन, लाग्दैन होला तर अहिले पनि कर्णालीका कतिपय कात्रो किन्नसमेत नसक्नेहरुका लागि यो विशेष कार्यक्रम हो ।

यसले धेरै नागरिकलाई राहत प्रदान गर्ने पक्का छ । बरु सहजरुपमा पैसा पाउने र सरल तरिकाको माग दावी गर्ने बाटो अपनाउने कुरा सोच्नुपर्छ र कर्णालीका दुर्गम गाउँबाट बीमा रकम दावी गर्न आउनेहरुलाई सहजरुपमा उपलब्ध गराउने गरी बीमा कम्पनी र सरकारले योजना बनाउनुपर्छ ।