२०८१, २८ फाल्गुन बुधबार

२३ दिनपछि पाटन उच्च अदालतमा पदमुक्त मन्त्री खत्री अदालतमा हाजिर

कर्णाली प्रदेशका पदमुक्त गरिएको भौतिक विकास मन्त्री आज बुधबार पाटनको उच्च अदालतमा उपस्थित भएका छन् । उनलाई अदालतले साउन २७ गते तीन दिन भित्र अदालतमा हाजिर हुन भनेपनि २३ दिनपछि मात्रै उपस्थित भएका हुन ।
खत्री आज उच्च अदालत पाटनको वाणिज्य इजलासमा उपस्थित भएका हुन् । खत्रीको आजै अदालतले बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालका अनुसार अहिले बयान दिने काम भइरहेको छ । ‘अहिले उहाँको बयान लिने काम भइरहेको छ ।’ उनले भने, ‘त्यसपछि थुनछेक बहस हुनेछ र साँझ साढे चार बजेसम्म आदेश आउनेछ ।’ उनले प्रहरीलाई बहालवाला मन्त्री भएका कारण उतिबेला तीन दिनको म्याद दिएको बताए । ‘तर ती तिन दिन भित्रै उहाँलाई बर्खात गरिएको खबर आएका कारण उहाँ सर्वसाधारणलाई जस्तै म्याद थामेर आउनु भएको हो ।’ सर्वसाधारणलाई फरक म्याद हुने हुँदा उहाँ आज अदालतमा हाजिर हुनु भएको उनको भनाई छ ।
बैंकिङ् कसुरका दोषी आरोपी खत्रीलाई साउन ३१ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदमुक्त गरिसकेका छन् । कृषि विकास बैंक भोजपुरबाट कीर्ते बैंक ग्यारेन्टी बनाएर खत्री लगायतका व्यक्तिले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको उनीमाथि अभियोग छ ।
खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी बनाएको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो । खत्री तत्कालीन नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्बर १ (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सांसद निर्वा्चित भएका थिए । अहिले उनले सम्हालेको मन्त्रालय मुख्यमन्त्री आफैंले सम्हालिरहेका छन् ।