२०८१, २१ बैशाख शुक्रबार

मौलिकता बचाउन सरकार जिम्मेवार बन

श्री कृष्ण जन्माष्टमीको भोलीपल्ट सम्म सुर्खेत र दैलेख जिल्लामा भव्य रुपमा लाखे नाच प्रदर्शन गर्ने चलन अहिलेसम्म पनि कायमै रहेको छ । कर्णालीको खस भाषा लोप भइरहेका बेला यहाँका युवाहरुमा लाखे नाच प्रतिको मोह भने घटेको छैन । युवाहरु पानीमा भिजेरै भएपनि नृत्य गरिरहेको देख्दा लाग्थ्यो यो ऐतिहासिक प्रचलनलाई जीवितै राख्न युवाहरुको महत्वपूर्ण भूमिका छ ।
खासगरी कर्णाली प्रदेश कला र साहित्य अनि खस भाषाको उदगम स्थल नै हो । उदगमस्थल भएतापनि अहिले हुड्के नाच, खस भाषा, देउडा, रत्यौलीजस्ता अनेकौं परम्परा तथा भेषभुषा लोप भइसकेका छन भने केहि लोप हुने तयारीमा छन् । युवाहरुको आकर्षण पश्चिमा शैलिसँग नजिकिदै गइरहेको पाईन्छ तर युवाहरु नै यसरी अन्य देशको कला, साहित्य र संस्कृतिमा रम्न थाले भने हाम्रो मौलिक कला साहित्य कसले आएर जगेर्ना गर्ने ? सबैभन्दा महत्वपूर्ण प्रश्न यहि हो । हामी अरु देशका संस्कृति भन्दा वित्तिकै हुरुक्कै हुने तर हाम्रो पहिचान झल्कने संस्कार भन्दा नाक खुम्च्याउने बानीको जबसम्म अन्त्य गर्न सकिदैन तबसम्म मौलिक पहिचानको दायरा कम हुँदै जाने पक्का छ र एक दिन हाम्रो संस्कार समाप्त भएको र पुरानो प्रचलन एकादेशको कथा बन्ने सम्भावना छ ।
अहिले स्थानीय तथा प्रदेश सरकार छन् । आफ्नो क्षेत्रको कला साहित्यलाई प्रवृद्धन गर्ने, युवाहरुलाई उक्त संस्कृति जगेर्ना गर्न उत्साह दिने काम गर्न यी सरकारले जरुरी देखिन्छ । अनुदानका नाउामा विभिन्न सहकारी संघसंस्थालाई करोडौं बाँडनु भन्दा त्यसको केहि अंश कला साहित्य क्षेत्रको संरक्षण तथा प्रर्वद्धनमा सरकार लाग्नु पर्छ यसमा सरकारको सामाजिक विकास मन्त्रालय गम्भिर हुन आवश्यक छ ।