२०८१, २१ बैशाख शुक्रबार

डोल्पामा औषधी अभाव

डोल्पा । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको संख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ ।
टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट ( हुइडल पेष्ट रियाजेन्ट ) नहुँदा समस्या उत्पन्न भएको हो । पाँच दिनदेखि यो औषधिको अभाव हुँदा अस्पतालमा आएका बिरामीहरू उपचारमा चुनौती थपिएको डा. सिजन रावलले बताए ।
मौसम परिवर्तनसँगै डोल्पामा बिरामी बढेपनि टाइफाइड पत्ता लगाउने किट (औषधी) नै नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गर्न बाध्य भएको डाक्टर रावलले बताए । यातायात र हवाइ यातायातको सहज पहुँच नभएको डोल्पामा औषधिको आपुर्तिमा ढिलासुस्ती गर्दा धेरै बिरामीले निजी औषधि पसलमा उपचार गर्न बाध्य भएका छन् । अस्पताल प्रशासनले औषधि अभाव भएको जानकारी प्रदेश सरकारलाई गराएपनि माग पुर्ति नभएको बताएको छ ।
डोल्पा अस्पताल प्रदेशको मातहतमा रहेकाले कुनै पनि कुरा अभाव भएमा पुर्ति गर्ने जिम्मा प्रदेश सरकारको रहेको छ । त्यस्तै दुई जना डाक्टरको दरबन्दी भएको डोल्पा अस्पतालमा एक जना मात्र डाक्टरले काम गरिरहेका छन् । करारमा एक जना डाक्टर कार्यरत छन् । अस्पतालमा डिजिटल एक्स(रे समेत नहुँदा पुरानो एक्स(रे बाट काम सञ्चालन हुँदैआएको छ ।
त्यस्तै बिरामीलाई दिने अक्सिजनसमेत नहुँदा दैनिक समस्या पैदा आएको छ । जीर्ण भवनमा उपचार गर्दा समस्या हुँदैआएको छ । अस्पताल निर्माणका लागि डीपीआ (विस्तृत परियोजना प्रतिवेदन) भएपनि अहिलेसम्म बोलपत्र आह्वान हुनसकेको छैन ।