२०८१, २१ बैशाख शुक्रबार

सुनौलो नेपाल बनाउन सहकार्य आवश्यकः प्रदेश प्रमुख, ‘गोप्य भेट भन्ने कुरालाई ताला लगाऔं’:मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले लोकतान्त्रिक गणतन्त्रलाई सहीरुपमा कार्यान्वयन गर्दै सुनौलो नेपाल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । प्रदेश सरकारले बुधबार गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको १२ औँ गणतन्त्र दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले २ सय ४० वर्षे राजतन्त्र फालेर ल्याइएको लोकतन्त्रबाट करोडौं नेपालीका सुनौला सपना जोडिएको बताए ।

‘‘कम बलिदानीले आजको दिन आएको होइन ।’’ उनले भने, ‘‘जनताको बलिदानीलाई सहीरुपमा प्रयोग गरेर देशलाई सम्बृद्ध बनाउनुपर्ने आवश्यकता छ । यो दिवसले सबैलाई यहि प्रेरणा देओस् ।’’ यसअघि प्रदेश प्रमुख खनालले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजित सांसद, मन्त्री बीचको भलिबल खेलकूदमा प्रथम हुने टिम, रक्तदानमा सरिक हुने व्यक्ति तथ ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने टिमलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

गणतन्त्र दिवसका अवसरमा मंगलगढी चोकबाट निस्केको प्रभात फेरीमा कर्णाली प्रदेश सरकारका मन्त्री, सांसद, कर्मचारी, प्रहरी र सेनाको सहभागिता रहेको थियो । गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले राष्ट्रिय झण्डोत्तोलन गर्दै नेपाली सेनाले प्रदेश प्रमुखलाई दिएको सलामी ग्रहण गरेका थिए । त्यसैगरी उनले सहिदप्रति माल्यार्पण गरी सम्मानसमेत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अब गोप्य भेट गर्ने परम्परा तोड्नुपर्नेमा जोड दिएका छन् । ‘‘अब हामीले अनुहार हेरेर बजेट कार्यकर्तालाई दिने होइन ।

बजेट चौरमा राखेर बनाउन जरुरी छ । विगतको जस्तो कोठे बजेट ल्याइने छैन ।’’ उनले भने, ‘‘कुनै पनि कुरा गोप्य राख्नु हुँदैन । मैले गोप्य भन्ने कुरा मन्त्रालयमा हुन दिएको छैन । अन्य मन्त्रालयमा पनि गोप्य भन्ने चीजलाई ताला लगाउनुहोस् ।

हामीले समग्र कर्णालीको विकास गर्नुछ ।’’ उनले राम्रो कामको विरोध गर्नैपर्ने परिपाटीको पनि अन्त्य गर्नुपर्ने धारणा राखे । उनले अहिले पनि केन्द्रिकृत धारणा हावी भएको बताउँदै सबैभन्दा पहिले सकारात्मक सोचको विकास गर्न आवश्यक भएको बताए ।

‘‘विगतमा राजनीतिक नेतृत्वले जहिले पनि अर्को चुनाव लक्षित योजना बनाउने परम्पराले विकास हुन नसकेको हो ।’’ मुख्यमन्त्री शाहीले भने, ‘‘अब यो परम्परालाई तोड्नुपर्छ । प्रदेश सरकार आवश्यकताका आधारमा योजना बनाउने गरी अघि बढिरहेको छ ।’’

कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, सरकारका मन्त्रीहरु, उपसभामुख पुष्पा घर्ती, प्रदेश सभाका सदस्यहरु, उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

हलविहीन प्रदेश सरकार

कर्णाली प्रदेश सरकारसँग हल नहुँदा कार्यक्रम गर्न समस्या भएको छ । बुधबारको उक्त कार्यक्रममा पनि हल अभावको खट्केको प्रदेश सरकारलाई परेको हो । हल नहुँदा सरकारले पिपलचौतारामा सडक अवरुद्ध पारेरै भएपनि गणतन्त्र दिवस मनाएको हो ।