२०८१, २१ बैशाख शुक्रबार

गणतन्त्र दिवसकै दिन खुल्दैछ तातोपानी नाका

 सिन्धुपाल्चोक । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा खुल्दैछ ।

नेपाल-चीनको प्रमुख व्यापारिक उक्त नाका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र चिनियाँ अधिकारीले बुधबार औपचारिक रुपमा शुभारम्भ गर्नेे कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।

तातोपानी नाका

भोटेकोशी गाउँपालिकामा नेपाल र चीन सरकारको अध्यागमन प्रमुखको रोहवरमा १० जना नेपाली र चार वटा खाली कन्टेनरलाई मंगलबार खासा प्रवेशका लागि अस्थायी पास उपलब्ध गराइएको थियो । सोहीअनुरुप ती कन्टेनर चिनियाँ सामान लिएर बुधबार नेपाल भित्रिने छन् ।

तातोपानी नाका बन्द भएपछि नेपाल-चीन बीचको व्यापार प्रभावित भएको थियो । तातोपानीको विकल्पमा रसुवागढी नाका प्रयोग भए पनि भौगोलिक कठिनाई र लामो दुरीका कारण व्यवसायी समस्यामा पर्दै आएका थिए । त्यसैले नेपाल र चीन दुवै सरकारले तातोपानी नाका खुलाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएका थिए ।

तातोपानी नाका खुलाउने सिलसिलामा मंगलबार नै चिनियाँ राजदूत हउ यान्छी निरीक्षणका लागि तातोपानी पुगेकी छिन् । राजदूत यान्छीले गाउँपालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गरेकी थिइन् ।

अरनिको राजमार्ग र तातोपानी क्षेत्रको सीमापुल निर्माणसहित सबै काम सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा लार्चास्थित भोटेकोशीको ११२ मिटर पक्की पुलका साथै ५०० रोपनी क्षेत्रमा फैलिएको अत्याधुनिक सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भइसकेको छ ।
यसअघि सीमापुलस्थित लिपिङबाट भन्सारको काम हुँदै आएकामा त्यहाँदेखि ६.५ किलोमिटर तल रहेको लार्चाबाट सबै काम हुने भएको छ ।

त्यसैगरी अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्मको बाटो चीन सरकार र त्यहाँदेखि बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाले निर्माण गरेका छन् ।