२०८१, २० बैशाख बिहीबार

मप विश्वबिद्यालयमा स्ववियु निर्वाचन सार्न कसरत

Madhyapaschim-Bishwobidhyalसुर्खेत, साउन २४ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मिति सार्न कसरत सुरु भएको छ ।
विश्वविद्यालयले आगमी भदौ ८ गते स्ववियुको मिति तोकेको थियो । सोही अनुसार विभिन्न राजनीतिक दल निकट विद्यार्थीहरु निर्वाचनमा होमिसकेको बेला निर्वाचनको मिति सार्ने कसरत भएको छ ।

खास गरी नेपाल विद्यार्थी संगठन, एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले चुनावी अभियानलाई तीव्रता दिइसकेका थिए ।

अखिल क्रान्तिकारीले सभापतिको उम्मेदवार विश्वविद्यालयको संगठनका इन्चार्ज राजेन्द्र बुढालाई घोषणा गरेर चुनावी अभियानको प्रचारप्रसार गरेको छ भने नेविसंघ र अनेरास्ववियुले उम्मेदवार घोषणा नगरेपनि चुनावी अभियान चलाएका छन् । तर विभिन्न बहाना बनाएर मप विश्वविद्यालयको स्ववियु चुनावको मिति सार्न कसरत थालिएको छ ।

अहिले तोकिएको समयमा नेविसंघको राष्ट्रिय महाधिबेशन सुरु भएकोले पनि यो मिति उचित नभएकोले मिति केही सार्न कसरत गरिएको हो । यसबाहेक विप्लब र बैद्य नेतृत्वको माओवादीका विद्यार्थी संगठन र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन पनि चुनावको मिति सार्न गरिरहेका छन् ।

नेविसंघले आफ्नो महाधिबेशन भएकोले तयारी नपुग्ने भएकोले चुनावको मिति सार्न माग गरेको र राष्ट्रिय जनमोर्चाको सविद्यार्थी संगठनले आफ्ना विद्यार्थीहरुको भर्ना नभएकोले मिति सार्न माग गरेको बुझिएको छ । एक महिना मिति सारे नयाँ भर्ना पनि सुरु हुने भएकोले त्यतिवेला विद्यार्थी भर्ना गर्न सकिने भएकोले पनि मिति सार्न माग गरिएको बुझिएको छ ।

स्ववियु निर्वाचनका लागि सुझाव संकलन गर्न आइतबार यहाँको वीरेन्द्रनगरमा भएको सर्वदलीय बैठकमा पनि निर्वाच्न बारे मत बाँझिएको छ । राजनीतिक दलहरुले फरकफरक मत राखेपछि बैठक विना निष्कर्ष टुङगिएको एमालेका एक जना नेताले जानकारी दिए ।

सबै दलीय बैठकमा नेपाली काँग्रेसका प्रतिनिधीले निर्वाचनको मिति सार्न भनेपछि दलहरु विभाजित भएका थिए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल मदजुर किसान पार्टी तोकेकै मितिमा चुनाव गराउनु पर्ने पक्षमा देखिएका थिए भने नेपाली काँग्रेस लगायतका अन्य केही राजनीकित दलका प्रतिनिधिले केही समय मिति सार्नुपर्ने भनाई राखेका थिए ।

दलहरु बीच नै साझा मत नभएपछि सुझाव संकलनका लागि बोलाइएको बैठक विना निष्कर्ष टुङगिएको बैठकमा सहभागी एक जना नेताले बताए । ‘‘धेरै बैठक भएका रैछन, दलहरुलाई बोलाइएको थिएन,’ उनले भने–‘स्ववियु निर्वाचनका लागि सुझाव संकलन गर्न भनेर बैठक राखिएको थियो, मिति सार्ने कि तोकिएकै मितिमा गर्ने भन्ने विषयमा कुरा मिल्न सकेन बैठक त्यतिकै सकियो ।’’
यता मुख्य तीन ठुला राजनीतिक दल सम्बद्ध विद्यार्थीहरु आधिकारिक रुपमा चुनावको मितिको बारेमा धारणा व्यक्त नगरेपनि माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एमालेको अनेरास्ववियुले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताउदै आएका छन् । नेविसंघले यस विषयमा केही नबोलेपनि नेपाली काँग्रेसले नै चुनावको मिति सार्नु पर्ने बताइसकेको छ ।