कृषक समूहको संयुक्त अनुगमन
सुर्खेत, साउन २०।
सरोकारवालाहरुले मालारानी गाविसका विभिन्न कृषक समूहहरुमा संयुक्त अनुगमन भ्रमण गरेका छन् । अमेरिकी सहयोग नियोग (युसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित ज्ञानमा आधारित एकीकृत दीगो कृषि तथा पोषण (किसान) परियोजनाद्वारा गठित कृषक समूहहरुको अनुगमन गरिएको हो ।
जसमा मालारानी गैरीबजारको लालिगुरास, मलारानी ६ कै सरस्वती, मालारानी ५ को घुमाउने ताजा तरकारी उत्पादन समूह लगायतका समूहहरुमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक शिवनारायण चौधरीले कृषक समूहहरुले गरेको कृषि खेतीको प्रशंशा गर्दै आगामी दिनमा पनि कृषकहरुलाई सरकारी तवरबाट पनि सहयोग प्रदान गर्ने बताए । कृषक समुहहरुलाई आवश्यक पर्ने सिंचाई, संकलन केन्द्र लगायत कृषि उत्पादन बृद्धिको लागि विभिन्न निकायसंग समन्वय गर्ने उनको प्रतिबद्धता रहेको थियो ।
जिल्ला कृषि विकास कार्यालयका वागवानी अधिकृत पदम सुवेदीले कृषक समुहहरुलाई कृषि कार्यालयले प्रदान गरिरहेको भकारो सुधार, गड्यौला मल लगायतका सुविधाका बिषयमा जानकारी दिएका थिए ।
कृषक समूहहरुसंग छलफलका क्रममा डिभिजन सिंचाई कार्यालयले समुहहरुबाट माग आए मालारानी ५ काल्चेमा रहेको चरम सिंचाई अभावलाई कम गर्न फिजिबिलिटी अध्ययन गरी काम अगाडि बढाउन सकिने बताएको छ । भ्रमणमा सहभागि भएका सम्पूर्ण क्षेत्रका प्रतिनिधिहरुले कृषकहरुलाई सहयोग पुग्ने खालका हरेक गतिविधिमा कृषकको माग र चाहाना अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
संयुक्त अनुगमन भ्रमणमा क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, डिभिजन सिंचाई कार्यालय, महिला विकास कार्यालय, नवज्योती केन्द्र, गाविस सचिव लक्ष्मी प्रसाद लामिछाने, उद्योग बाणिज्य संघ, किसान परियोजनाका जिल्ला संयोजक लक्ष्मी तिवारी, नेपालगञ्ज प्रतिनिधी अशोक बराल, सुर्खेतका कार्यक्रम अधिकृत स्वीकार कार्की लगायतको सहभागिता रहेको थियो । किसान परियोजनाले विगत तीन वर्ष देखि जिल्लाका विभिन्न ११ वटा गाविसहरुमा कार्यक्रम गर्दै आएको छ ।