२०८१, २ जेष्ठ बुधबार

माघी एवं माघे संक्रान्ति पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश

imagesकाठमाडौ माघ १ थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् ।

यी चाडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा भिन्न भिन्न ढंगले मनाउने प्रचलन समेत रहेको छ ।

यो पर्व यसको उदाहरण समेत हो । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मूख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो । यसका लागि सरकार सम्वाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको छ ।

यस अवसरमा यस पर्व मनाउने सम्पूर्ण समुदायहरुलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न हार्दिक अपिल गर्दछु ।अन्तमा, यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलूकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।