गरिबिले निम्त्यायो एचआइभि, परिवार नै एचआइभि संक्रमित
सुर्खेत । दुई÷चार रोपनी रुखो जग्गा । खानेपानी कै जोह गर्न कठिन । सिँचाई विनाको रुखो जग्गाको उत्पादनले उनको परिवारलाई दुई महिना पनि पुग्थेन । पाँच जनाको परिवार पाल्नु निकै परिश्रम गर्नु पर्ने । परिवारको भोक टार्न निकै कठिन थियो । यही अवस्थाबाट गुज्रिएका थिए सुर्खेतका मनोज (परिवर्तित नाम) ।
गरिबीकै कारण भोक टार्न समस्या भएपछि उनको विकल्प एउटा मात्रै थियो । उनी मजदुरीका लागि भारत गए । उनका गाउँका थुप्रै युवाहरु भारतमा श्रमका लागि जान्थे । उनीहरुको पीडा पनि मनोजको जस्तै थियो । अधिकांश अधबैसे थिए । अधबैसेहरु समूहमा भारतका विभिन्न ठाउँमा ठेक्कामा काम गर्थे । कहिले काँही ठेकेदार र मुन्सीसंग भनाभन हुँदा विरक्तिदै मदिरापान गर्थे । गरिबीबाट टाढिन परिवारको भोक टार्न भारत पुगेका उनीहरु बर्षको एक÷दुई पटक मात्रै घर फर्कन्थे ।
घरमै बसेर परिवार पाल्न नसक्ने भएपछि भारत पुगेका उनले भारतमा पनि सुरुका दिनहरुमा मजदुरी गरी पाँच÷छ हजार कमाउथे । यस्तै समस्या भएका उनी जस्तै नेपाली युवा तथा अधबैसे पुरुषहरुको समूह नै सँगै मजदुरी गर्दथे । साथीभाइहरु जम्काभेट हुँदा मनोजले केहिलेकाही साथीहरुको लहलहैमा भारतका विभिन्न स्थानमा रहेका कोटिसम्म पुगे । ठेकेदार र मुन्सीसंगको भनाभनले उनीहरुमा मदिरापान गरेका उनीहरु कोटिसम्म पगेको थाहा पाएनन् ।
यसरी नै केही वर्ष भारतमा बिताएका उनी घरफर्किदा एचआइभि बोकेर फर्किए । घर फर्केका उनी सुरुमा त भिटिसी केन्द्रमा पनि पुगेनन् । तर केही समयपछि भिसिटि केन्द्रमा रगत परीक्षण गराउँदा उनी र उनीकी श्रीमतिलाई समेत एचआइभी पोजेटिभ देखियो ।
मनोजले अहिले औषधी लिइरहेकाछन् । एचआइभि संक्रमित भएपछि विभिन्न संघसंस्थाहरुले उनलाई बाँच्नका लागि हौसला दिए । गाउँका अरु युवालाई यसबाट बच्न सहयोग गर्नुहोस् भने । तर बाध्यता कायमै थियो । उनले गाउँलेलाई त कसरी सम्झाउथे । उनको आफ्नै छोरा पनि भारत मै मजदुरीका लागि जान बाध्य भए । उनका छोराको पनि त्यही नियति भयो । उनका छोरासमेत एचआइभि संक्रमित भएका छन । मनोजको परिवार नै एचआइभि संक्रमित भयो ।
मनोज र उनको परिवार त एउटा प्रतिनिधी मात्रै हुन । उनी जस्तै जिल्लाका धेरै व्यक्तिहरु मजदुरीको लागि भारतमा जाने र फर्किदा एचआइभि संक्रमित भएर आउने गरेका छन । जिल्लामा एचआइभि संक्रमित हुनेहरु सबैभन्दा बढी भारतमा मजदुरी गरी फर्केका र उनीहरुका श्रीमतिहरु रहेको सरोकारवालाहरुको भनाइ छ ।
सुर्खेतमा एचआइभि संक्रमितहरुको हेरचाह गर्ने नवकिरण प्लसका देवेन्द्र शर्माले सुर्खेतममा एचआइभि संक्रमित भएकाहरु मध्ये सबैभन्दा बढी भारतमा मजदुरी गरी फर्किएका र उनीहरुका श्रीमतिहरु रहेको बताए । जिल्ला एड्स समन्वय समिति सुर्खेतको तथ्याङकमा पनि सबैभन्दा बढी संक्रमित भारतबाट फर्किएकाहरु नै छन ।
जिल्लामा अहिले एक सय १८ जना पुरुष र एक सय १६ जना संक्रमित महिलाहरुले औषधि लिइरहेका छन् । यसमध्ये सबैभन्दा धेरै बैदेशिक रोजगारीबाट फर्किकाहरु रहेको अनुमान गरिएको छ । त्यस्तै झण्डै त्यतीकैको संख्यामा उनीहरुका श्रीमती र सन्तान रहेको बताइएको छ । गृहणिहरुमा श्रीमानकै कारण एचआइभि संक्रमण हुने गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार ३० जना नयाँ संक्रमितको पहिचान पनि भएको छ । गत आर्थिक वर्षमा गरिएको परिक्षणबाट ११ जना पुरुष र १९ जना महिलामा संक्रमण देखिएको हो । यस्तै पाँच सय बढी गर्भवती महिलाहरुमा परीक्षण गरिएकोमा एक जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै गत आर्थिक वर्षमा एक हजार एक सय ४६ जना गर्भवती महिलाहरुलाई परामर्श दिइएको छ ।
चेतनामूलक ¥याली
यहाँका विभिन्न संघसंस्थाहरुले २९ औं विश्व एड्स दिवसका अवसरमा सचेतनामूलक ¥याली निकालेका छन् । जिल्ला एड्स समन्वय समिति, नवकिरण प्लस, विभिन्न प्राविधिक शिक्षालयहरु लगायतको संयुक्त आयोजनामा भएको ¥याली जिल्ला स्वास्थ्य कार्यालयमा पुगी समापन गरिएको थियो । मंगलगढीबाट ¥याली सुरु गरिएको थियो ।
¥याली पछि जिल्ला स्वास्थ्य कार्यालयमा भएको कार्यक्रममा सरोकारवालाहरुले एचआइभिका बारेमा सबैले जनचेतना जगाउनुपर्ने र संक्रमितलाई जीवन सहज बनाउनका लागि हौसला दिनुपर्नेमा जोड दिएका थिए । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले अहिले पनि चेतनाको कमी भएको भन्दै चेतना फैलाउनु पर्ने बताए । उनले यसबारेमा सबैलाई सूसुचित पार्नुपर्ने भन्दै जनचेतना बढाउनुपर्ने बताए ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका निमित्त प्रमुख मोहन देवकोटाले यो समस्या संक्रमितहरुको मात्रै हो नभनी आफूहरुको समस्या समेत हो भन्ने भावनाका साथ संक्रमितलाई घृणा होइन माया गर्न सिक्नुपर्ने बताए । कार्यक्रम सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालको अध्यक्षता तथा प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।