मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विस्तारित सेवा
सुर्खेत। सुर्खेतको कालागाउँमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विस्तारित अस्पताल सेवा (इएचएस) संचालन गरेको छ ।
सरकारले नै डाक्टरहरु निजी क्लिकमा काम गर्नुभन्दा अस्पतालमै थप शुल्कमा थप सेवा दिने योजना अघि सारेपछि सुर्खेतको क्षेत्रीय अस्पतालमा पनि सेवा विस्तार गरिएको हो ।
बिरामीको सुविधालाई ध्यानमा राखेर अस्पतालले पहिलो पटक अतिरिक्त शुल्कसहित यो सेवा सुरु गरेको छ । दिउँसोसम्म दिदै आएका सेवाहरु अब त्यसबाहेकको समयमा पनि उपलब्ध हुनेछन । आवश्यकता अनुसार साँझ ७ बजेसम्म पनि सेवा दिन सकिने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.डम्बर खड्काले जानकारी दिए ।
सरकारले घोषणा गरेअनुसार नै अहिले क्षेत्रीय अस्पतालमा सेवाको सुरु गरेर अभ्यास गरेको भन्दै नि.मेसु खड्काले जानकारी दिए । बिरामीवाट थप शुल्क लिएर बिस्तारित सेवा सुरु गरिएको उनको भनाई छ । यस अघि दिउँसो १२ बजेसम्म विरामीको नाम लेखेर ३ बजेसम्म उपचार गरिदै आएकोमा अब जतिबेला पनि नाम लेखेर उपचार गर्न सकिने भएको छ ।
बिस्तारित सेवाका लागि ल्याबमा ५० प्रतिशत, अप्रेसनमा सत प्रतिशत, नाम लेख्दा ५० प्रतिशत थप शुल्क लिएर लिइने मेसु डा खड्काले बताए । यस्तै बिरामी जाँचको पनि थप शुल्क लाग्ने छ । मेसु डा. खड्काका अनुसार जुनियर डाक्टरले बिरामी जाँच गरेको थप १५०, सेकेन्ड कलासको डाक्टरले २०० र फस्ट कलासको डाक्टरले २५० रुपैयाँ शुल्क लिने छन ।
विस्तारिक अस्पताल सेवा अन्तर्गत बिरामी जाँच, ल्याव, एक्सरे, अपरेशन लगायतका सबै सेवाहरु संचालन हनेछन । यो सेवाका लागि तीन बजेपछि अस्पतालमा कार्यरत डाक्टरहरुले आलोपालो मार्फत ओपिडी देखि अप्रेसन, ल्याब, एक्सरे लगायतका सेवाहरु दिइने डा. खड्काको भनाई छ । ‘‘सरकारले घोषणा गरेअनुसार अहिले हामीले इएचएस सेवामार्फत सुरु गरेकाछौं,’उनले भने–‘सेवाको सुरुमा खासै अहिले बिरामीहरुको चाप बढेको छैन, हेरौ कस्तो हुन्छ ?’’
डा. खड्काले अहिले आफूहरुले सरकारले सेवा पनि बढाउने निर्णय गरेअनुसार यस अघि दिउँसो ३ बजेसम्म संचालन हुने गरेको सेवा पनि बढाएर साँझ चार बजेसम्म संचालन गरेको बताए । हिउँदको समय भएकोले चार बजेसम्म संचालन गरिएको र अन्य समयमा साँझ पाँच बजेसम्म नै पहिलेको जस्तो सेवा संचालन हुनेछ । त्यस बाहेकको समयमा थप शुल्क लिएर सेवा दिइने डा. खड्काले जानकारी दिए ।