सम्पादकिय: जोखिम न्यूनीकरण गर्न पूर्व तयारीमा लागौं
सम्पादकिय: देशभर मनसुन सुरु भइसकेको छ । हरेक वर्षजस्तै यो वर्ष पनि वर्षात्का कारण जनधनको क्षति हुने क्रम सुरु भइसकेको छ । पूर्वीनेपालमा बाढीपहिरोका कारण क्षति हुने क्रम सुरु भइसकेको छ भने यो क्रम बढ्दै जानेछ । पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीले गर्दा वर्षेनि ठूलो क्षति हुने गरेको छ । यसलाई जति सक्यो न्यूनीकरणगर्दै जनधनको सुरक्षाका लागि तीनै तहका सरकार विपत् पूर्वतयारी र प्रतिकार्यमा योजनाबद्धरुपमा लाग्नु आवश्यक छ ।
प्राकृतिक स्रोतको दोहन, जलवायु परिवर्तन, र जथाभावी हुनेविकासका कार्यहरू लगायतका कारण मनसुनका कारण हुने प्रकोपका घटना हुने क्रम बढिरहेको छ । सामान्यतया नेपालमा अत्यधिक अनि निरन्तर हुने वर्षा, हिमताल विस्फोटन र पहिरोका कारण बनेका बाँधहरू विस्फोटन हुँदा बाढी आउने गर्छ । नदी तथा खोला क्षेत्रमा बढ्दो अतिक्रमणका कारण बहाव क्षेत्र साँघुरिँदै जाँदा वर्षातको समयमा तटबन्ध फुटेर बाढीको रूप लिने गरेको पाइन्छ । नसबै पहाडी तथा हिमाली जिल्लाहरु पहिरोको जोखिममा छन् । भौगोलिक रूपमा मध्यपहाडी क्षेत्रका जिल्लाहरू अत्यधिक वर्षाको मारमा पर्ने गरेको देखिन्छ । यसबाट सबैभन्दा पीडित विपन्न नागरिक नै हुने गरेका छन् ।
हुन त विपत्ले धनी, गरिब छुट्याउँदैन तर भौगोलिक रुपमा जोखिमयुक्त क्षेत्रमा विपन्न नागरिक नै बस्ने गरेकाले उनीहरु बढी असुरक्षित हुने गरेका छन् । खोला तथा नदी प्रभावित क्षेत्रमा बसोबास गर्नेमध्ये पनि जसले कच्ची माटोको घर बनाएका हुन्छन्, उनीहरु बढी पीडित हुने गरेका छन् । यसरी हेर्दा नेपालमा प्राकृतिक प्रकोपको बढी असर हुनुको एउटा कारण सामाजिकअवस्था पनि हो भन्न सकिन्छ । एकातिर भौगोलिक हिसाबले नेपाल प्राकृतिक प्रकोपको बढी जोखिमयुक्त क्षेत्रमा पर्ने र अर्कोतिर ठूलो संख्या विपन्न नागरिक भएकाले उनीहरुको बसोबासस्थल र घरका स्वरुपमा आधारमा पनि बढी क्षति हुने अवस्था विद्यमान छ । बाढीजन्य प्रकोपको कारण प्राकृतिक भएपनि त्यसबाट हुने क्षतिको दरमा मानवीय कारण प्रमुख रहन्छ । यसको निराकरणको लागि पूर्वतयारी र विपत् प्रतिकार्यमा तीनै तहका र त्यसमा पनि अझ बढी स्थानीय सरकार गम्भीर बन्नुपर्छ । सकेसम्म विपत् आउन नदिन सचेतनामा जोड दिनुपर्छ । विपत् आइहाले तत्काल उद्धार, उपचार र राहतका लागि प्रतिकार्य योजना बनाउनुपर्छ ।