सम्पादकिय: एसईई र शैक्षिक गुणस्तर
सम्पादकिय: वर्तमानको विद्यालय संरचनाअनुसार कक्षा १ देखि ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह भनी परिभाषित गरिएको छ । विगत ८ दशक भन्दा लामो समयदेखि विद्यालय तहको अन्तिम परीक्षाको रुपमा कक्षा १०मा लिइँदै आएकोमा एसएलसीलाई एसईईमा रुपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार विद्यालय तहको अन्तिम कक्षा १२ मा लिइने परीक्षालाई एस्एल्सी मानिएको छ ।
विसं १९९० सालदेखि एसएलसीको रुपमा लिइँदै आएको परीक्षाको नतिजा उत्साहप्रद देखिदैन । वि.सं.१९९८ सालमा सबभन्दा बढी ७७.७८ प्रतिशत र वि.सं.२०३८ सालमा सवभन्दा घटी १६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ । यति लामो समयसम्म विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि नपुग्नामा के विद्यार्थी मात्रै दोषी छन् त ? शतप्रतिशत उपलब्धिस्तर पु¥याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाज लगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न विलम्ब भइसकेको छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए तापनि विद्यार्थीको उपलब्धिमा झन ह्रास आउनु गम्भिर चिन्ताको विषय हो । एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दवाव नदिने, उनीहरुको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण वनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी भित्र पर्दछ । त्यस्तै विद्यालयले विद्यार्थीको रुची क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठन पाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यथार्थता हो ।
यो पटकको एसईईको नतिजा सार्वजनिक भइसकेको छ । केही विद्यार्थीहरुले अप्रत्याशित नतिजा आएकोले आत्महत्यासमेत गरेका घटनाहरु बाहिर आएका छन् । त्यसैले अब शैक्षिक संस्था, अभिभावक स्वयम् विद्यार्थीले पनि एसईईलाई भयको रुपमा नहेरी आफूले राम्रोसँग अध्ययन गरी परीक्षा दिन जरुरी छ । विद्यार्थीलाई सहजरुपमा परीक्षाको नतिजालाई लिनको लागि सबै पक्षले प्रोत्साहन गर्न जरुरी छ ।