२०८१, २९ आश्विन मंगलवार

प्रकृतिको बरदानस्सुपरफूड सितलचिनी

लोकराज पन्त

मोरिङ्गा, ड्रम स्टिक, सितलचिनी र मधेसमा मुनगा वा सहजन नामको वनस्पति एक अत्यन्तै चमत्कारी वनस्पतिको रुपमा पर्दछ । यो बिरुवा सबै प्राणीका लागी निकै उपयोगी र लाभकारी छ । प्राचीन कालमा ऋषिमुनिहरुले यसलाई जीवन बुटिको रुपमा लिने गरेको धार्मिक ग्रन्थहरुमा पनि उल्लेख गरेको पाइन्छ । सितलचिनी अर्थात सितल चिनीका फूल, पात, फल लगायत सबै थोक जिवन उपयोगी हुन्छन् । यसलाई अंग्रेजीमा मोरिङा ओलिफेरा भनिन्छ । सितल चिनी सन्सार भरी चमत्कारी बिरुवाको रुपमा लिने गरिन्छ ।

यसको पातलाई मिक्सरमा पिसेर रस बनाएर एक चम्चा मह र आधा कागती हालेर बिहान खाली पेटमा सेवन गर्यो भने बोसोको मात्रा घट्ने र आफुले चाहे जस्तो शरीर बनाउन मिल्ने हुन्छ । यो जिम गर्ने युवाहरुलाई नि निकै उपयोगी मानियको छ । यसले रजस्वला भएका महिला हरुको गडबडिलाइ नि निकै फाईदा हुने का साथै पाटेघर सम्बन्धी रोगलाई नि फाईदा गर्ने गर्छ ।
भारतको लखनउस्थित रिजनल फुड रिसर्च एनालसिस सेन्टरद्वारा गरिएको अनुसन्धान अनुसार, प्राकृतिक गुणले परिपूर्ण सितलचिनीमा यति औषधीय गुण हुन्छ, यसको कुनै पनि रूपमा सेवनले थुप्रै रोगबाट मुक्ति पाउन सकिन्छ ।

सितलचिनीमा भिटामिन ए र बी बढी मात्रामा पाइन्छ । भिटामिन सी समेत पाइन्छ । यी तीनै भिटामिन उच्च मात्रामा हुने कमै प्राकृतिक खाद्य पदार्थ छन् । यसमा फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फास्फोरस एवं खनिज तत्त्व प्रचूर मात्रामा हुन्छ । यसको नियमित सेवन गरे रक्तअल्पता र आँखाको रोगबाट मुक्ति पाउन सकिने सेन्टरको अनुसन्धानमा उल्लेख छ । यस्तै, भारतकै राष्ट्रिय कृषि अनुसन्धान परिषदका अनुसार, सितलचिनी हेमाग्लोबिन बढाउनमा सहायक हुन्छ । एन्टिबायोटिकको गुणले भरिपूर्ण हुन्छ । यसको फुलले दाल झान्नाले शरीरमा आइरनको मात्रा दिने गर्छ भनिएको छ ।

मुख्यत पेटसम्बन्धी सबै प्रकारका विकारबाट छुटकारा पाउन सितलचिनीको सेवन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो समेत बनाउँछ । कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । आँखाको ज्योति बढाउँछ । यसमा भिटामिन ए पर्याप्त हुने भएकोले रतन्धो रोग लाग्दैन । रतन्धो भिटामिन ए कै कमीले गर्दा हुन रोग हो । गठिया र मोटोपनाले पीडितहरूको लागि त यो उपयोगी छ । यो वायुनाशक हुन्छ । यसैले गर्दा सितलचिनी खानाले बोसो कम हुन्छ । बोसो कम हुँदा मोटोपना कम हुन्छ, गठिया निको हुन्छ, । यो पीडानाशक प्राकृतिक औषधि पनि हो । यसले सुन्निएको कम गर्छ ।

सितलचिनी वीर्यवर्धकसमेत मानिन्छ । आयुर्वेदले यसलाई नपुंसकताको उपचारमा प्रभावकारी मानेको छ । सितलचिनीको बोटको उचाइ १० मिटरसम्म हुन्छ । आयुर्वेदका थुप्रै औषधि तयार पार्न सितलचिनीको जरो, बोक्रा, फूल, बीउ र फल नै उपयोग गर्न सकिने बहुउपयोगी बिरुवा हो । डा।आर्युेवेदाचार्य श्रीधर सुवेदीका अनुसार सितलचिनी सोइजनमा मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढी पोषकतत्व,४६ किसीमका एन्टीअक्सीडेन्ट,३६ प्रकारका एन्टीफालामेन्टरी, ८ प्रकारका अत्यावश्यक एमिनो एसिड जस्ता पोष्टिक तत्वहरु पाइन्छ ।

के–के बनाउन सकिन्छ सजिवनबाट ? 

सितलचिनीबाट भारतमा १२५ भन्दा धेरैथरीका परिकार तयार गरिन्छ । दक्षिण भारतमा यो सब्जी अति नै मह्त्वका साथ दैनिक भोजनमा समावेश गरिएको पाइन्छ । यसका परिकार फुटपाथदेखि पाँचतारे होटलसम्ममा भिन्नभिन्न रुपमा पस्किने गरिन्छ । नेपालमा भने कलिलो सजिवनको कोसालाई आलुमा मिसाएर तरकारी बनाउने चलन छ । भारतमा सितलचिनीको ग्रेभी, सुप, सलाद, सम्बार, सितलचिनी मसला, अचार र दालमा मिसाएर खाने चलन छ ।
सितलचिनीको मुन्टा तथा पातको करी पनि निकै प्रख्यात छ । पातलाई सुकाएर हर्बल टीको रुपमा पनि प्रयोग गरिन्छ । त्यस्तै सितलचिनीलाई विभिन्न आयुर्वेदिक औषधि बनाउन व्यापक प्रयोग गरेको पाइन्छ । वास्तवमा सितलचिनीलाई सब्जीको राजा नै मानिन्छ । सितलचिनीको पातको जुस बनाएर पनि खान सकिन्छ, जुन स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ ।
यस्ता छन् २० गुणहरु

  •  सितलचिनी या सितलचिनीको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ ।
  • हड्डी मजबुत बनाउन भूमिका खेल्छ ।
  • कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।
  • उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ ।
  • रुघाखोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ ।
  • गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ ।
  • छालासम्बन्धी संक्रमणबाट जोगाउँछ ।
  • सितलचिनी पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ ।
  • सितलचिनीको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ ।
  • सितलचिनीले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ ।
  • सितलचिनीको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ ।
  •  सितलचिनीको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ ।
  • सितलचिनीको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ ।
  • कलेजो खराब हुनबाट जोगाउँछ ।
  • चोटपटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ ।
  •  छालाका लागि सितलचिनीको पत्ता उपयोगी मानिन्छ ।
  •  सितलचिनीको तेल कपालका लागि उत्तम मानिन्छ ।
  • मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
  •  शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ ।
  • पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्दा मद्दत पुर्याउँछ ।

 

लोकराज पन्त खाद्य विशेषज्ञ हुन्  उनी खाद्य क्षेत्रमा कलम चलाउँछन् ।