२०८१, २० बैशाख बिहीबार

सिमकोट–हिल्सा सडक : अस्थायी रुट परमिट प्रदान गर्न सिफारिस

हुम्ला। हाल यातायातका साधनहरु सञ्चालनमा रहेको सिमकोट–हिल्सा सडक खण्डलाई अस्थायी रुट परमिट प्रदान गर्न सडक अनुगमन समितिले सिफारिस गरेको छ । उक्त सडकको सिमकोटबाट हिल्साखण्डको सडकको स्थलगत अनुगमन गरेको टोलीले अस्थायी रुट परमिट प्रदान गर्न उपयुक्त हुने निष्कर्ष निकाल्दै सिफारिस गरेको हो ।

अनुगमन टोलीका संयोजक हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बिरेन्द्र चन्दले सडकको अबस्था हेर्दा सिमकोटबाट हिल्सासम्म अस्थायी रुट परमिट दिन उपयुक्त देखिएको निष्कर्ष अनुगमन टोलीले निकालेको र त्यसै अनुसारको प्रतिबेदन प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई पेश गरिएको बताए ।

यसअघि ट्राफिक प्रहरीले दुई पटक यातायात कार्यालय सुर्खेतलाई सो खण्डको अस्थायी रुट परमिटका लागि माग गरेको भए पनि कार्यालयले दिएको थिएन । प्रजिअ पौडेलले अस्थायी रुट परमिट लिनका लागि सडक अनुगमन समिति गठन गर्नुभएको थियो । प्रमुख चन्दले मिनिबस सञ्चालनका लागि हिल्सा–सिमकोट सडकको अबस्था ठिक भएको कारण रुट परमिट दिनका लागि अनुगमन समितिले सिफारिस गरेको बताए।

उक्त खण्ड ९५ किलोमिटर लम्बाइ रहेको छ । हाल टिप्पर, ट्याक्टर र बोलेरो जीप सञ्चालन हुँदैआएको छ । गत भदौमा सो खण्डको सडकमा सञ्चालन गर्नका लागि दुई वटा मिनिबसहरु हिल्सा यातायात प्रालिले केरुङ नाका हुँदै तिब्बतीमार्ग भएर हिल्सामा ल्याएको थियो ।