२०८३, १७ असार बुधबार

बलात्कारको आरोपमा वडाध्यक्ष फरार

ओखलढुंगा  ।  सुनकोशी गाउँपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष छविरमण धमला फरार भएका छन् । उनीविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बलात्कारको आरोपमा पक्राउ पूर्जी जारी गरेसँगै उनी फरार भएका हुन् ।

उनीविरुद्ध शुक्रबार २५ वर्षीया युवतीले आफूमाथि बलात्कार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सो घटनाबारे जानकारी लिन पालिकाखबरले वडाध्यक्ष धमलासँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ आएको छ ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष प्रकाश सापकोटाले घटनाबारे आफूलाई विस्तृत जानकारी नभएको बताए । आफू पारिवारिक कार्यले एक सातादेखि काठमाडौंमै रहेकोले सोबारे जानकारी नभएको उनले सुनाए । मैले पनि भर्खरै समाचारबाट यो जानकारी पाएको हुँ । विस्तृतमा के भएको हो मलाई थाहा छैन, उनले भने ।

आफू व्यस्त भएकाले घटनाबारे पालिकाका कोही व्यक्तिसँग सम्पर्क नभएको उनले बताए ।