२०८१, २५ फाल्गुन आईतवार

कर्णालीको पूर्वाधार विकास गर्न आवश्यक


समृद्धिको महत्वपूर्ण सूचक पूर्वाधार विकास नै हो । पूर्वाधारको विकासबिना समृद्धिको सपना कुरामा मात्र सीमित हुन्छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये अझै पनि हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । भएको एक मात्र कर्णाली राजमार्ग पनि गतिलो छैन । विमानस्थलको अवस्था पनि निकै नाजुक छ । विमानस्थल छन्, तर पर्याप्त विमान छैनन् । ढुवानी निकै महँगो छ । सामान्य बिरामी हुँदासमेत सदरमुकाम तथा सुर्खेत नेपालगन्ज धाउनुपर्ने बाध्यता छ । सामान्य अस्पताल छन्, तर डाक्टर र औषधीको अभाव छ जसले गर्दा बर्सेनि कैयौं मानिस अकालमा ज्यान गुमाउन बाध्य छन् । विद्यालय छन् तर स्तरीय शिक्षा छैन । बनेको बाटोमा पनि पक्की पुल छैन । तुइनबाटै मानिसहरू दैनिक जीविकाका लागि आवतजात गर्न बाध्य छन् । यस्ता यावत् समस्याबाट पीडित कर्णालीवासीहरू मुक्त गर्न पूर्वाधार विकासमा जोड दिनु जरुरी छ । विकासको पर्खाइमा रहेको कर्णालीको प्रमुख प्राथमिकता भनेको पूर्वाधार विकास नै हो । सडक, खानेपानी, विद्युत्, सञ्चार प्रविधिको विकास र विस्तारमा ध्यान दिनु आवश्यक छ । सडक सञ्जाल नहुँदा नागरिकको बजारसम्मको पहँुच पुग्न सकेको छैन, जसले गर्दा दैनिक उपभोग्य वस्तुहरू महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । आफ्नो आम्दानीको ठूलो हिस्सा उपभोग्य वस्तुमै खर्च गर्नुपर्ने विवशता छ, जसले गर्दा कर्णालीमा गरिबी बढाएको छ । पूर्वाधारको विकासले नै जनजीविका सहज बनाउँदै अवसरको सिर्जना गर्छ । यसले आर्थिक र सामाजिक विकासमा टेवा पु¥याउँछ । पूर्वाधार विकासका लागि सुविधा सम्पन्न अस्पताल, गुणस्तरीय शिक्षाका लागि क्याम्पस तथा विश्वविद्यालय, सबै जिल्लामा सडक सञ्जालको विस्तार, हवाई सेवाको विकास र विस्तार, औद्योगीकरण र व्यवस्थित सहरीकरणका निमित्त तीन तहकै सरकारको प्राथमिकता हुनुपर्छ ।