जिल्ला अस्पताल रुकुमपश्चिममा फिजियोथेरापी सेवा सुरु
सुर्खेत :जिल्ला अस्पताल रुकुमपश्चिमको सल्लेमा फिजियोथेरापी सेवा सुरु भएको छ । सेवाग्राहीको मागलाई ध्यानमा राख्दै जिल्ला अस्पताल रुकुमपश्चिममा फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको हो ।
विरामीको सहजताका लागि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले बताए । ‘फिजियोथेरापी सेवा सञ्चालमा आएसँगै हड्डी र नसा सम्बन्धी उपचारमा सहज भएको छ ।’ उनले भने,‘हड्डी भाँचिएको, फ्याक्चर भएको अवस्थामा फिजियोथेरापीमार्फत उपचार नगरेसम्म निको नहुने भएकाले विषेश प्राथमिकताका साथ हड्डीको उपचारको लागि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याइएको हो ।’
फिजियोथेरापीका लागि आवस्यक पर्ने आधारभूत सामग्री व्यवस्थापन गरेर सेवा सञ्चालन सुरु गरिएको र आवश्यक अन्य सामग्री भने व्यवस्थापन गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
फिजियोथेरापी सेवा जिल्ला अस्पतालमा कार्यरत फिजियोथेरापिष्ट अस्मिता श्रेष्ठले दिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमपश्चिमले जनाएको छ ।