२०८०, १३ जेष्ठ शनिबार

संघ प्रदेशमा बाहिरिएको एमालेले कर्णालीमा माओवादीका मुख्यमन्त्री शर्मालाई दियो विश्वासको मत

सुर्खेत : संघ र प्रदेश सरकारबाट बाहिएको एमालेले कर्णाली प्रदेशमा माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको छ । केन्द्रमा र अन्य प्रदेशमा कांग्रेस र माओवादीलगाएतका अन्य दलहरुले तालमेल गरेको भएपनि कर्णालीमा एमालेले विश्वासको मत दिएको हो ।
एमालेको सहयोगमा गत माघ ६ गते माओवादी केन्द्रबाट शर्माले विश्वासको मतले लिएका थिए । तत्कालिन अवस्थामा नेपाली कांग्रेस विपक्षमा रहेको थियो । अहिले पनि एमालेले विश्वासको मत दिएको छ ।
कर्णालीका मुख्यमन्त्री शर्माले बहुमत हुँदाहुँदै पनि एमालेलाई सरकार बाहिर राख्ने रणनीति साथ राप्रपाले समर्थन फिर्ता लिएको निहुमा विश्वासको मत लिन खोजेका थिए ।
तर, कर्णालीमा त्यो रणनीतिलाई विफल पार्दै आचार्यजनक रुपमा मुख्यमन्त्री शर्मालाई समर्थन गरेको हो ।
शुक्रबार विश्वासको मत पाउँ भनि प्रदेशसभामा पेश गरेको प्रस्तावमा शर्माले विश्वासको मत पाएका हुन् । प्रदेशसभाका ४० सांसदमध्ये ३९ सांसद प्रदेशसभा मतदान गरेका थिए ।
शर्माले विश्वासको मतको पक्षमा ३८ मत पाएका छन् । उनको विपक्षमा राप्रपाका १ सांसद उभिएका थिए । शर्मालाई विश्वासको मत दिनेमा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका ९, एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदले समर्थन गरेका छन् ।
एक पटक मौन रहेका नेपाली कांग्रेसका सांसदहरु अन्तिम अवस्थामा पक्षमा मतदान गरेका थिए ।
बहुमत हुँदाहुँदै विश्वासको मत लिएः मुख्यमन्त्री शर्मा
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफु बहुमतमा हुँदा पनि आफुले विश्वासको मत लिन लागेको बताएका छन् । विश्वासको मत माग्दै कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले बहुमत हुँदाहुँदै विश्वासको मत मागेको बताएका हुन् ।
सरकारलाई विश्वासको मत दिएको ठुलो दल एमाले साथ रहदा रहदा पनि राप्रपाले मलाई दिएको विश्वासको मत फिता लिएकाले आफुले पुनः विश्वासको मत लिन लागेको मुख्यमन्त्री शर्माले बताए । ‘ममाथि बहुमत हुँदाहुँदै पनि राजनीतिक इमानदारिताका लागि विश्वासको मत मागेको हुँ ।’ उनले भने,‘मलाई समर्थन गरेको एउटा दलले विश्वासको मत फिर्ता लिएपछि पुनः विश्वासको मत लिन उचित ठानेको हुँ ।’
सकारात्माक सोचका साथ मुख्यमन्त्रीलाई नेपाली कांग्रेस
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री राजकुमार शर्माको मुख्यमन्त्री पद संकटमा भए सोच्न सकिने बताएको नेपाली कांग्रेस मत विभाजन हुँदा एकछिन मौन बसेको कांग्रेसले अन्तिम समयमा मत दिएको छ ।
केन्द्रमा एउटा गठबन्धन भएका कारणले विश्वासको मत दिएको नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘केन्द्रमा भएको सहमति अनुसार नै विश्वासको मत दिएका हौं ।’ उनले भने,‘हाम्राबीच केही बिषय मिल्न बाँकी रहेका छन् ।’
मुख्यमन्त्री शर्मालाई दिएको समर्थन एमाले फिर्ता नलिने
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन एमालले फिर्ता नलिने निर्णय गरेको छ ।
विगतमा माओवादीसँगको भएको सहमति अनुसार समर्थन फिर्ता लिनुपर्ने कुनै कारणले नभएकाले विगतमा दिएको समर्थन कायम रहेको एमालेका संसदीय दलका नेता यामलाल कँडेलले बताए । ‘हामीले समर्थन फिर्ता बिषयमा सोचेका छैनौं ।’ उनले भने,‘हाम्रो अहिले पनि समर्थन रहेको छ ।’
‘बामपन्थी एकताको सन्देश दिन र अहिले एमाले सरकारका सामेल भएका कारणले समर्थन फिर्ता लिने कुरै हुँदैन ।’ नेता कँडेलले भने,‘एमालेलाई जहाँबाट लखेट्ने कार्यक्रम नभएका कारणले अहिले त्यो निर्णय गरिएको हो ।’
केही दिन अघि सुर्खेत आएका एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रदेश सरकार छाड्ने वा नछाड्ने जिम्मा प्रदेश समितिको नै भएको बताएका थिए । त्यसै अनुसार कर्णाली प्रदेशमा एमालेले सरकारलाई समर्थन गरेको नेता कँडेलको भनाई रहेको छ ।
कर्णालीबाट नयाँ सन्देश गएको छ ः माओवादी
कर्णालीबाट बहुमत सदस्य सदस्यले मुख्यमन्त्री समर्थन गरेर देशमा नयाँ सन्देश गएको बताएको छ । माओवादी केन्द्रका प्रदेशसभा सदस्य विन्दमान विष्टले कर्णालीमा सहमतिको सरकार बनाउन सबै दल मिलेर सरकार बनाउनका लागि सन्देश गएको बताए ।
कर्णालीको विकासका लागि सबै दलहरु एक ठाउँमा उभिएको यसले नयाँ सन्देश दिएको सांसद विष्टले बताए । ‘विकासका लागि सबै एक हुनुपर्छ भन्ने सन्देस कर्णालीबाट गएको छ ।’ उनले भने,‘अब केही बिषय मिलाएर एकताबद्ध हुन आवश्यक रहेको छ ।’