२०८०, १७ आश्विन बुधबार

वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो

नेपालमा रोजगारी, व्यापार व्यवसाय गर्ने विचार थोरैमा मात्र छ । उच्च शिक्षा र राम्रो आम्दानी हुने देखेपछि अमेरिका, अस्ट्रेलियालगायत युरोपका विभिन्न मुलुक जाने नेपालीको संख्या उल्लेखीय रुपमा बढेको छ । यसको मध्यनजर गर्दै कन्सल्टेन्सीहरु पनि धमाधम खुलेका छन् । पाइलैपिच्छे कन्सल्टेन्सीका बोर्ड झुन्ड्याइएको भेटिन्छ । तर, ती कन्सल्टेन्सी सरकारबाट दर्ता भएका हुन् कि होइनन् ? यसको नियमन हुने गरेको छैन । पछिल्लो समय कन्सल्टेन्सीको ठगीधन्दा मौलाएको कुरा व्यापक आइरहेको छ ।
कन्सल्टेन्सीले विदेश पठाउँछु भनेर पैसा लिने तर यहीँ अलमल्याएर राखिदिने । यहाँबाट राम्रो मुलुक जानका निम्ति मोटो रकम बुझाइसकेकाहरु यतिखेर तनावमा परेका छन् । कन्सल्टेन्सीले विदेश पनि नपठाउने, पैसा पनि फिर्ता नदिने । पढेलेखेकैलाई कन्सल्टेन्सीले ठगेको छ भने नपढेका, अक्षर नचिन्नेलाई म्यानपावर कम्पनीले कति ठगेको होला ? उच्च शिक्षा हासिल गर्न जानेहरुलाई नै कन्सल्टेन्सीका सञ्चालकले उल्लु बनाइरहेका छन् ।
आज र भोलि भन्दै तिनलाई झुलाउने काम भइरहेको छ । ऋणधन गरेर, जायजेथो बेचेर २० देखि २५ लाख बुझाउनेहरु छन् । तर, अहिले कन्सल्टेन्सीकै सञ्चालक भागेर हिँडेका छन् । ऋण लिएको ठाउँमा ब्याज तिर्दाको हैरानी छुट्टै छ । छोराछोरीले बाहिर गएर कमाउलान् भनेर बाबुआमाले ऋण त लिए । तर, अहिले त्यो पैसा ‘निल्नु न ओकल्नु’ भएको छ ।