२०८१, ७ बैशाख शुक्रबार

सर्वसाधारणको रकम ठुला व्यापारीको कब्जामा

नेपालका ठूला व्यापारीहरुले नेपाली पैसा विदेशी बैंकमा राख्दा यहाँको बैंक हायलकायल बनेको छ । व्यापार गर्ने भनेर नेपालका बैंकबाट कर्जा लिए तर त्यसको दुरुपयोग गरियो । लिएको कर्जा व्यापार व्यवसायमा नभई विदेशी बैंकमा लगेर राख्ने काम भयो । व्यापारका लागि भन्दै करोडौं कर्जा लिने व्यापारीहरु छन् ।
बैंकहरुले पनि सर्वसाधारणलाई कर्जा नदिने तर ठूला व्यापारीलाई जति भयो उति रकम कर्जा दिने । बैंकहरु सबै ठूला व्यापारीको कब्जामा छन् । पछिल्लो समय ठूला व्यापारीहरुले आफ्नो बचतसहित कर्जा लिएको रकमसमेत विदेश लिएर गए । नेपालका नामी उद्योगपति वा व्यापारीहरु अब नेपाल छोडेर विदेश नै जान्छन् भन्ने खूब चर्चा चुलिएको छ । उतै बस्छन् र व्यापार व्यवसाय सञ्चालन गर्छन् भन्ने कुराले बजार तताएको छ ।
राम्रो कारोबार र चिनजानको आधारमा बैंकहरुले विना धितो करोडौं रुपियाँ ओटी कर्जा दिएका छन् । व्यापारीहरुले बैंकबाट पैसा निकालेर विदेश लगिसकेको कुराबारे सरकार अनभिज्ञ छ । यता, सर्वसाधारणमा पनि कुनै जानकारी छैन । बैंकबाट कसले कति कर्जा लिएको छ ? कसको कति बचत छ ? भनेर नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले चेकजाँच गरेको छैन । नेपालको पैसा सबै विदेशिसकेको छ । बैंकका सञ्चालकहरु गैरजिम्मेवार हुँदा आज मुलुकको अर्थतन्त्र शिथिल बनेको छ । आर्थिक प्रलोभनको पछाडि दौडिँदा नेपालमा हुनुपर्ने रकम सबै बाहिरियो ।