२०८१, २० बैशाख बिहीबार

मुगु कर्णाली जलाशययुक्त आयोजनाको क्षेत्र निर्धारण कार्य सुरु

सुर्खेत : मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको क्षेत्र निधारणको काम सुरु भएको छ ।
आयोजनाको क्षेत्र निर्धारणको जिम्मेवारी पाएको जेट कन्सल्टका वातावरण विज्ञ खड्कसिंह महतले विद्युत आयोजनाका लागि क्षेत्र निर्धारण कार्य सुरु भएको बताए ।
आयोजना प्रभावित क्षेत्रका लागि कर्णालीका चार र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला गरी पाँच जिल्लाका केही गाउँपालिका छनौटमा परेका छन् । उनले प्रभावित जिल्लाका गाउँपालिकाका स्थानीय र जिल्लास्तरमा सल्लाह सुझाव संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।
सोमबार हुम्ला सदरमुकाम सिमकोटमा सरोकारवाला पक्षसँग परामर्शदाताको दुई सदस्यीय समूहले सुझाव संकलन गरेको हो । यसअघि टोलीले वातावरणीय र साँस्कृतिक क्षेत्रमा पर्ने प्रभावका बारेमा पनि स्थानीयको सुझाव लिइसकेको छ ।
त्योसँगै उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन–डीपीआर तयार पार्ने कामसमेत भइरहेको छ । परामर्शदाता कम्पनीले क्षेत्र निर्धारण प्रतिवेदन फागुन अन्तिमसम्ममा विद्युत विकास विभागलाई बुझाउने छ ।
आयोजनाको ड्याम पिलुचौमा निर्माण गरिने छ भने बाँध २८५ मिटर अग्लो निर्माण हुनेछ । यो आयोजना कार्यान्वयनमा आए १ हजार ९०२ मेगावाट विद्युत उत्पादन हुनेछ ।