२०८३, १६ असार मंगलवार

सपथ नखाँदै पुर्व मन्त्री विष्टको सक्रियता ः अधुरा सबै योजना पाँच बर्षभित्र सम्पन्न गरिछाड्ने लक्ष्य 

  1. सुर्खेत : नेकपा (माओवादी केन्द्र) का नेता एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य विन्दमान विष्टले सपथ नखाँदै आफ्नो सक्रियातालाई व्यापक बनाएका छन् ।

    उनी निर्वाचित भइसकेपछि आफ्नो क्षेत्रमा भए गरेका विकासे गतिविधिका बारेमा जानकारी लिने र रोकिएका कामहरुलाई तत्काल अढी बढाउनतर्फ अग्रसर भएका हुन् ।
    आइतबार बराहताल गाउँपालिका वडा नम्बर २ भेरी नदीमा निर्माणाधिन फेरी निर्माणको अवलोकन गरेका थिए । उनले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिए।
    ठेकेदार कम्पनी र सडक डिभिजन सुर्खेतका इञ्जिनियरसहित फेरी निर्माण स्थल रानिघाट पुगेका सांसद विष्टले आगामी पुष महिनाभित्रै फेरी सञ्चालनमा आउने गरि काम गर्न निर्देशन समेत दिए । उक्त फेरीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ र बराहताल गाउँपालिका वडा नम्बर २ जोड्ने छ ।
    यस अघि उक्त ठाउँमा निर्माण गर्न लागिएको पक्की पुल प्राविधिक समस्याका कारण रोकिएको थियो । पक्की पुलको विकल्पमा उक्त स्थानमा फेरी निर्माणलाई अघि बढाईएको हो । यदि यो फेरी सञ्चालनमा आएको खण्डमा बराहताल गाउँपालिकाका अधिकाँश नागरिकहरुलाई प्रदेश राजधानी वीरेन्द्रनगरमा आउन सहज हुने अपेक्षा गरिएको छ।
    ठेकेदार कम्पनीका प्रतिनिधि अबिरल रावतले अबको केही दिनमै फेरी निर्माणको काम अघि बढाइने बताए । फेरी ६४ लाख लागतमा निर्माण भइरहेको छ ।
    उनले भने,‘ पुष महिनाको १५ गतेसम्म फेरी सञ्चालनमा आउँछ ।’
    सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनियर तुलाराम शर्माले तोकिएको समयभित्रै फेरी निर्माण सम्पन्न गर्न आग्रह गरे ।
    पुर्व अर्थमन्त्री समेत रहेका विष्टले यसअघि आफुले नै शुरुवात गरेका कामहरु यही अबको पाँच बर्षभित्र सम्पन्न गर्नेगरि अघि बढेको बताए ।
    शनिबार विष्टले बड्डीचौर, खम्वागाडे, खम्वाखाड, माझिगाउँ सडक, बावियाचौर कुईने सडकको अनुगमन गरेका थिए । कैलालीको महोन्याल गाउँपालिकादेखि पश्चिम सुर्खेतमा विस्तार भईरहेको ३३ केभी विद्युत प्रशारण लाइन विस्तारको काम अन्तिम चरणमा रहेको सांसद विष्टको भनाई छ ।
    ‘निर्वाचनका बेला जनतामाझ गरिएको सडक, बिजुली र उत्पादनलाई पुरा गर्नुपर्ने दायित्व छ,’उनी भन्छन्,‘ प्रदेश राजधानीबाट नजिकै रहेपनि विकासका दृष्टिकोणले पश्चिम पछि परेको छ । अबको पाँच बर्षभित्र पश्चिमको विकासपनि राजधानीको विकासासँग तुलनागर्न योग्य हुनेगरि हामी लागिरहेका छौँ ।’