२०७९, १६ माघ सोमबार

उचित मूल्यको पर्खाइमा जुम्लाका स्याउ

जुम्ला : जुम्लाका स्याउ भदौको पहिलो हप्ता पाकिसक्छ । अधिकांश किसानले स्याउ भदौ,असोजमा बिक्री गरिसक्छन् । केही किसानहरुले राम्रो भाउ पाइने आशामा मंसिर र पुष महिनासम्म पनि स्याउ भण्डारण गरी राखिरहेका हुन्छन् ।
कतिपय किसान बाध्यताबस स्याउ थन्क्याएर राख्नुपर्ने अवस्थामा छन् । तिनै मध्येका एक हुन्, सिंजा गाउँपालिका ५ गोरा गाउँका किसान रामसिंह रावल । दसैंमा नेपालगन्ज लैजाने भनेर टिपेर काटुनमा प्याक गरिराखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा दुई दिन जति रोकिए । त्यसपछि लगातारको वर्षाले ठुलो जनधनको क्षति ग¥यो । राजमार्ग क्षतविक्षत भयो । उनले स्याउ बेच्न पाएनन् ।
बाटो बन्द भएपछि जुम्ला बजार ल्याएर राखेका स्याउ बिक्री नहुँदा उनी तनावमा छन् । स्तरीय बाटो र किसानमैत्री नीति नहुँदा नोक्सान बेहोर्नु परेको उनको गुनासो छ । काठमाडौंमा पु¥याए तीन चार सय रुपैयाँ किलोमा बिक्री हुने भएपनि जुम्लामा घुइयाको भाउमा बेच्नु पर्ने अवस्थाले कृषिमा सरकारका नीति असफल भएको उनको तर्क छ ।
प्रायजसो एयरपोर्टमा स्याउ बेच्न आउने गेठीचौर गाउँपालिका–३ की उमादेवी अधिकारी स्याउ बिक्री नहुँदा निकै नरमाइलो लाग्ने बताउँछिन् । ‘नेपालगन्ज जाने मान्छेहरुले लिन्छन्की भन्ने आशले स्याउ बेच्न ल्याउँछु’ उनले भनिन्,‘कहिले प्लेन आउँछ, कहिले आउँदैन । सबै मान्छेले स्याउ किन्दैनन् ।’
झण्डै दुई घण्टा हिँडेर बजार पुग्ने उनी स्याउ बिक्री नहुँदा फेरि भारी बाकेर फर्किन निकै कठिन हुने बताउँछिन् । त्यसैले धेरैजसो समय स्याउ घुइयाको भाउमा बेच्नु पर्ने उनी जस्तै धेरैले जुम्ली किसानको वाध्यता छ ।