कालिकोटको सुन्थराली विमानस्थलको धावनमार्ग कालोपत्र हुने
कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुन्थराली विमानस्थलको धावनमार्ग कालोपत्र हुने भएको छ । ६९० मिटर लामो र ६० मिटर चौडा धावनमार्गको कालोपत्र आगामी फागुन मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नागेन्द्र विष्टले जानकारी दिए ।
विसं २०४२ मा विमानस्थलको निर्माण सुरु भएको थियो । लामो समयपछि निर्माण प्रक्रियाले गति लिएको भन्दै विमानस्थलका लागि टावर निर्माण भइसकेको विष्टले बताए ।
दशक लामो माओवादी विद्रोह, पछिल्लो समय कोभिड–१९ लगायतका कारणले विमानस्थल निर्माणमा ढिलाइ भएको स्थानीयवासी बलिराज विष्टले बताए । उनका अनुसार विमानस्थल सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी हवाइजहाज चढ्न उत्साहित भएका छन् । विमानस्थल प्राधिकरणले चालु आर्थिक वर्षभित्रै विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । गौरी पार्वतीरश्याम र शंकर जेभीलाई धावनमार्ग कालोपत्र गर्ने, विमानस्थल क्षेत्रको नाला काट्नेलगायतका लागि १३ करोड ८० लाख रुपैयाँको ठेक्का दिइएको थियो ।