२०७९, २० माघ शुक्रबार

पर्यटकको पर्खाइमा पचाल झरना

सुर्खेत :  कालीकोटको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेका पचाल झरना पर्यटकको पर्खाइमा रहेको छ । नेपालकै ठुलो झरना भनेर दाबी गरिएको पचाल झरनाको प्रचार–प्रसार र पर्यटनको प्रर्बद्धन नुहँदा पर्यटकको पर्खाइमा रहेको छ ।
लम्वाई तीन सय ८१ मिटर अग्लो रहेको पचाल झरना कालीकोट जिल्लाको प्रमुख पर्यटकीय गतब्य रहेको छ ।
पचालभरनाको उचाई मापन सात वर्ष अघि नै भइसकेको र यस झरनाका बिषयमा पर्यटन बोर्ड खासै चासो नदिएको पचालझरना गाउँपालिकाका सव–इन्जिनियर कुलप्रसाद न्यौपानेले बताए । ‘लामो समयदेखि पचालभरनाको उचाईका बिषयमा बिवाद हुदैँ आएको थियो ।’ उनले भने,–‘हामीले बिभिन्न प्रबिधिको प्रयोग गरि उचाई मापन गर्दा तीन सय ८१ मिटर लामो रहेको छ ।’
यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुमको ह्याप्तुङ झरना तीन सय ६५ मिटर उचाइको रहेको त्यो भन्दा १६ मिटर अग्लो रहेको पचाल झरना रहेको पचालझरना गाउँपालिका अध्यक्ष देवजंग शाहीले दाबी गरे । ‘पर्यटन बोर्डले यस झरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख गरेको छैन् ।’ उनले भने,‘अग्लो झरना हो भनेर अभिलेख नहुँदा पर्यटकको पर्खाइमा झरना रहेको छ ।’
वर्षभरी नै निरन्तर पानी बगिरहने झरना अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माण पनि भइरहेको गाउँपालिकाका अध्यक्ष शाहीले बताए । ‘आन्तरिक तथा बाह्य पर्यटकका लागि झरना अवलोकन उचित गतब्य हो ।’ उनले भने,‘अभिलेख र प्रचार–प्रसार नहुँदा अहिले नगन्य मात्रामा मात्रै पर्यटकहरु आउने गरेका छन् ।’
गाउँपालिकाले पचाल झरनाको पर्यटन विकासका लागि कर्णाली प्रदेश सरकारले र गाउँपालिकाले रु.तीन करोड ३२ लाख रुपैयाँ खर्च भएको पचालझरना गाउँपालिकाका सूचना अधिकृत प्रकाश कठायतले जानकारी दिए । ‘पदमार्ग, होमस्टे र सूचना केन्द्र स्थापनाका लागि रु. तीन करोड ३२ लाख रुपैयाँ खर्च भएको छ ।’ उनले भने,‘अहिले जिल्लाका आन्तरिक पर्यटक मात्रै आउने गरेका छन् । बाह्य पर्यटकलाई आर्षषित गर्नका लागि अझैँ सकिएका छैन् ।’
पर्यटनका लागि राम्रो गतब्य रहेको भएपनि पर्यटन बोर्डले अभिलेख नगरिँदा पर्यटकको रोजाई पचाल झरना पर्न नसकेकोे गाउँपालिका अध्यक्ष शाहीले गुनासो गरे । ‘पर्यटन बोर्डमा पचाल झरनाको उचाईको बिषयमा प्राबिधिक टोलीको रिर्पोटसहित अभिलेख गर्न आग्रह गरेका थियौं ।’ उनले भने,‘पर्यटन बोर्डले आधिकारिक रुपमा अवलोकन गरि प्राबिधिक जाँच गरि अभिलेख राखिदिन आग्रह गरेका थियौं । तर, अहिलेसम्म हामीले कुनै जानकारी पाएका छैनौं ।’