२०८३, १७ असार बुधबार

कर्णाली हिमाली जिल्लामा कर्मचारी र मतदान सामग्री ओर्सान हेलिकप्टर प्रयोग गरिने

सुर्खेत : कर्णाली हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पाका मतदान केन्द्रमा कर्मचारी तथा मतपत्र लैजान कठिनाई भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि हिमाली जिल्लाका दुर्गम ठाउँमा मतदान केन्द्रमा खटिने कर्मचारी र मतपत्र लैजान कठिनाई भएको छ ।
मतदान केन्द्रमा कर्मचारी तथा मतदान सामग्री लैजान र ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने निर्वाचन आयोगको तयारी रहेको छ ।
कर्णालीका हिमाली जिल्लामध्ये डोल्पाको उपल्लो डोल्पा, हुम्लाको लिमी र मुगुको मुगमकार्मारोङ क्षेत्रमा मतदान खटिने कर्मचारी र मतदान सामग्री लैजान कठिन भएको छ । यहाँ हिमपात भएका कारणले बाटो अबरुद्ध बनेका कारणले मतदान केन्द्रमा पुग्नका लागि समस्या भएको हो ।
डोल्पाका ६८ वटा मतदान केन्द्र मध्ये १२ वटा मतदान केन्द्रकालागि हेलिकप्टर प्रयोग गरिने भएको र मतदान केन्दमा कर्मचारी, मतपत्र लगायत निर्वाचन सामग्री ल्याउन लैजान हेलिकप्टर प्रयोग गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।
सदरमुकाम दुनैबाट चार देखि सात दिनसम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्व, छार्काताङ्सोङ् र शे–फोक्सुन्डो गाउँपालिकाका १२ वटा मतदान केन्दमा मतपत्र कर्मचारी लैजान र मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए । ‘भौगोलिक रुपमा विकट र भारि हिमपातका कारणले समस्या हुने भएकाले पनि हेलिकप्टर प्रयोग गरिनेछ ।’ उनले भने,‘उपल्लो डोल्पामा पर्ने २२ वटै मतदान केन्द्रका लागि हेलिकप्टरको पहल गरिए पनि निर्वाचन आयोगले संवेदनशिलताका हिसाबमा १२ वटामामात्रै व्यवस्था गर्न सकिएको छ ।’
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमिका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको छ । लिमी जाने बाटोको न्यालु लेख हिमपातका कारणले बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत लैजान लागेको हुम्लाका निमित्त निर्वाचन अधिकारी श्याम बहादुर रानाले बताए ।
लिमिका तीन मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि कर्मचारी र मतदान सामग्री हेलिकप्टरबाट ढुवानी गरिने भएको छ ।
त्यस्तै, मुगुको मुगमकार्मारोङ गाउँपालिकामा मतदान केन्द्रमा जानका लागि कठिनाई रहेकोले त्यहाँ पनि हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिने भएको छ ।