२०८१, २३ कार्तिक शुक्रबार

डोल्पामा ‘ह्याट्रिक’ गर्ने दाउँका बुढा

सुर्खेत : चिसो मौसम रहेको डोल्पामा आगामी मंसिर ४ गते हुने प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनले सरगर्मी बढेको छ । आगामी प्रतिनीधिसभा तथा प्रदेशसभाको चुनावका लागि डोल्पामा बामलोकतान्त्रिक गठबन्धन दलका तर्फबाट प्रतिनीधिसभाका नेकपा एकीकृत (समाजवादी)का धनबहादुर बुढा, एमालेका गणेशबहादुर शाही, प्रतिनिधिसभाका लागि पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अंगतकुमार बुढा, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)बाट हर्कबहादुर ठकुल्ला र स्वतन्त्रबाट वीरबहादुर रोकाय चुनावी मैदानमा रहेका छन् ।
डोल्पामा एउटा प्रतिनीधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । अहिलेको निर्वाचनमा गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
२०७० साल र २०७४ सालको निर्वाचनमा विजयी भएका बुढा गठबन्धन दलको सहयोगमा विजयी भएर ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका छन् । दुई पटक एमालेबाट विजयी भएका बुढा अहिले एमालेलाई चुनौती दिएर ‘ह्याट्रिक’ गर्ने लक्ष्य राखेका छन् ।
एमालेबाट उम्मेदवार बनेका शाही एमाले विभाजनपछि समाजवादीमा लागेका थिए । पुनः उनी एमालेमै फर्किएर उम्मेदवार बनेका हुन् । बुढा र शाही विगतका सहयात्री हुन् । २०७० सालको निर्वाचन र २०७४ सालको निर्वाचनमा शाहीले बुढालाई विजयी हुन सहयोग गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री समेत भइसकेका बुढा ०७४ सालमा बामगठबन्धनबाट ११ हजार ७६१ मत ल्याएर एमालेबाट निर्वाचित भएका थिए । कांग्रेसबाट उम्मेदवार बनेका अंगतकुमार बुढाले तीन हजार एक १६७ मत मात्र ल्याएका थिए भने कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)बाट हर्कबहादुर ठकुल्लाले २९९ मत ल्याएका थिए ।
एमालेबाट उम्मेदवार रहेका शाही ठूलीभेरी नगरपालिकामा एमालेबाट निर्वाचित पूर्व नगर प्रमुख रहेका थिए ।
के भन्छन उम्मेदवार
यसभन्दा अघि दुई पटक विजयी भएर अहिले ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका बुढा अहिले गठबन्धन तथा व्यक्तिगत हिसाब आफुले राम्रो काम गरेका विजयी हुने बताउँछन् । ‘मैले दुई पटक विजयी भएर डोल्पा विकासका धेरै काम गरेको छु । अर्कोतर्फ गठबन्धन साथ रहेका कारणले मेरो जित्ने आधार हुन् ।’ उनले भने,‘डोल्पामा सडक शिक्षा,स्वास्थ्य र रोजगार मेरा चुनावी प्रदेशको को भिड््दै छन् एजेण्डा रहेका छन् । ती काम पुरा गर्ने मेरो लक्ष्य रहेको छ ।’
डोल्पा विगतदेखि एउटै प्रतिनीधिले विकास गर्न नसकेको र अहिले त्यसको ब्रेक रोक्नका लागि उम्मेवादरी दिएको विजयी हुने नेकपा एमालेका उम्मेदवार शाहीले बताए । ‘हाम्रा चुनावी एजेण्डा कारणले विजयी हुने आधार रहेको छ । अर्को कुरा डोल्पामा एमालेको संगठन बलियो रहेको छ ।’ उनले भने,‘त्यसैले मैले जित्ने आधार भनेका अन्य पनि छन् । शिक्षा, स्वास्थ्य, रोजगार र सडकको समस्या समधान गर्नु मेरो प्रमुख एजेण्डा हुन् ।’
प्रदेशसभामा को–को भिड्दै छन्
दुई वटा प्रदेशसभाको निर्वाचन रहेको डोल्पामा प्रदेशसभा ‘क’ मा गठबन्धनका कांग्रेस उम्मेदवार दिपेन्द्रबहादुर शाही र एमालेका शेरबहादुर बुढा रहेका छन् । प्रदेशसभा ‘ख’ मा गठबन्धनबाट माओवादीका कर्णाली प्रदेशका पर्यटन मन्त्री विरवहादुर शाही र एमालेका धनचन्द्र बैजी चुनावी मैदानमा रहेका छन् ।