२०८३, १७ असार बुधबार

बाढीपहिरोले १७ जना अझैँ बेपत्ता, थप दुई जनाको शव भेटियो

सुर्खेत : कालिकोटमा बाढीपहिरोमा परेर १७ जना अझैँ वेपत्ता रहेका छन् । कालिकोटमा पहिरोमा परेर २३ जना वेपत्तामध्ये छ जनाको शव भेटिएको हो ।
पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । आइतवार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका वडा नम्बर ७ वालीका धुर्वराज बिष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ ।
बिष्टको परिवारका पाँच जना पहिरोमा पुरिएर वेपत्ता भएको ती मध्ये बिहीबार प्रहरीले धुर्वराज बिष्ट र उनकी छोरी ज्यानी बिष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए । ‘विष्ट परिवारका चार जनाको शव भेटिएको छ ।’ उनले भने,‘पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म ६ जनाको मात्र शव भेटिएको छ ।’
तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका मलामी गएका १३ जना अझैँ हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए ।