२०८३, १७ असार बुधबार

अतिक्रमणले साँघुरियो सडक

सुर्खेत : पछिल्लो समय कर्णाली राजमार्गमा पर्ने विभिन्न स्थानमा मनपरि खोलिएका टहरा, घर निर्माण, अव्यवस्थित तरिकाले फालिएका ढुंगा बालुवाका कारण सडक अतिक्रमणमा परेको छ । कर्णाली राजमार्गको सुर्खेत, दैलेख, कालिकोट र जुम्ला सडकखण्डमा अतिक्रमण बढेको छ । एक वर्षको अन्तरालमा दर्जनौ बढी टहरा निर्माण भएका छन् । जसले गर्दा, सडक साँघुरिएर दुर्घटनाको उच्च जोखिम छ ।
कर्णालीका विभिन्न क्षेत्रमा सडक अतिक्रमणले सडक साँघुरिँदै गएको हो । न नाली देखिन्छ, नत सडक डिभिजनले लगाएको चिन्ह नै देखिन्छन् । मनपरि तवरमा घर टहरा निर्माण भएपछि, कर्णाली राजमार्गमा पर्ने सडक साँघुरिएको रजबहादुर मल्लले बताए । उनले भने, ‘सडक व्यवस्थापनभन्दा पनि हरेक व्यक्ति आफ्नो स्वार्थका लागि सामाजिक हित बिर्सेर अघि बढे ।’
वडा पालिका र सडक डिभिजनसँग समन्वय नगरी राजमार्गलाई असर पर्ने गतिविधि गर्नेलाई कारबाही गरिनु पर्ने उनको भनाइ छ । पहिले निकै खुल्ला मानिने कर्णाली राजमार्ग हिजोआज साँघुरिएको हो । अर्का स्थानीय प्रेम बुढाले भने, धेरै पटक आवाज उठायांै सुनुवाइ भएन, तातोपानीस्थित कर्णाली राजमार्गको सडकमा भएको अतिक्रमणलाई रोक्न सम्बन्धित सबैको ध्यानाकर्षणका लागि निवेदन पेस गरेको बताए ।
पार्किङ नहुँदा दुर्घटनाको जोखिम
स्थानीय सरकार तथा बजार व्यवस्थापन समिति र तातोपानी पर्यटन विकास केन्द्रले नियमन नगर्दा मनपरि रूपमा सडकमा पार्किङ भइरहेको छ ।
सडकमै पार्किङ, ढल निकासा नहुनु र सडक डिभिजनले ध्यान नदिएका कारण कर्णाली राजमार्ग सबै नाली पुरिएका छन् भने सडक साँघुरिएका छन् ।
स्थानीय आक्रोसित
कर्णाली राजमार्गको सडक खण्डमा केही व्यक्तिले मनपरि गरेपछि स्थानीय आक्रोसित भएका छन् । घर लगाउने ढुंगा, बालुवा फालेर सडक साँघुरो बनाउने, घर टहरा लगाउने, साँघुरो सडकै टासेर पार्किङ गर्ने लगायतका कारण तातोपानी–२ का स्थानीय युवाले विसंगति अन्त्य गर्न सुझाव दिँदै ध्यानाकर्षण पत्र दिएका हुन् ।
सडक डिभिजन जुम्लाका अनुसार अतिक्रमणले सडक साँघुरिएको बताए । केही दिनअघि सडक क्षेत्रभित्रको जग्गामा पुनः चिन्ह लगाएको र त्यस क्षेत्रका घर, टहरा, ढुंगा माटो व्यवस्थापन गर्न सुझाव दिएको बताएको छ ।