कर्णालीमा स्थानीय उत्पादनको माग बढ्दो, उत्पादन घट्दो
सुर्खेत : आन्तरिक तथा बाह्य पर्यटक भित्रिने क्रम बढेसँगै कर्णालीका परिकारको माग बढ्न थालेको छ । तर, स्थानीय खाद्यान्नको उत्पादन भने घट्दै गएको छ ।
कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय उत्पादनकै परिकार खोज्ने गरेको होटेल व्यवसायी बताउँछन् । उनीहरूको रोजाइमा रातो मार्सी धानको चामल, चिनो, कागुनो, कोदोलगायत कर्णालीमा उत्पादित खाद्यान्न पर्ने गरेका छन् । ‘कर्णाली घुम्न आउने अधिकांश मानिसले स्थानीय उत्पादन नै खोज्छन्,’ सुर्खेतमा द कुलेनरी हस्पिलिटी संचालक केशव कठायतले बताए ।
तर, यहाँका होटेल व्यवसायीलाई पु¥याउन सकस हुने गरेको छ । स्थानीय बालीको उत्पादन घट्दै गएकाले पर्यटकलाई स्थानीय परिकार खुवाउन गाह्रो हुने गरेको होटेल व्यवसायीहरू बताउँछन् । ‘स्थानीय बालीबाट उत्पादन भएका खानाका परिकारको माग उच्च छ । तर, उत्पादन कम भएकाले पु¥याउन समस्या हुने गरेको छ,’ व्यवसायी कठायतको भनाई रहेको छ ।
युवाको विदेश पलायन, कृषकहरू पनि तराईतिर झर्न थालेकाले स्थानीय उत्पादन कम हुँदै गएको छ । सिँचाइ सुविधा नभएकाले पनि स्थानीय बाली लगाउन छाड्दै गएका छन् । खेतीपाती गर्नुभन्दा किनेर खान सस्तो र सजिलो हुने भएकाले स्थानीय बाली लगाउन कम भएको कृषकको भनाइ छ ।
रातो चामल दुई सय रुपैयाँ किलो
उत्पादन कम र माग बढ्दै गएपछि यहाँ उत्पादित खाद्यान्नको मूल्य पनि बढेको छ । यसअघि मोटो चामलभन्दा पनि सस्तो हुने यहाँको रातो चामलको मूल्य अहिले प्रतिकेजी एक सय ५० देखि दुई सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, चिनोको मूल्य पनि बढेको छ । चिनो पनि प्रतिकेजी एक सय ५० रुपैयाँ नै रहेको स्थानीय मयालाल महताराले बताए ।
मीठोमसिनोले विस्थापन
कर्णालीमा उत्पादन हुने रातो मार्सी धान, चिनो, कागुनो, कोदोलगायत उत्पादन खस्रो हुने गरेका छन् । तराईबाट आयात गरिने अन्न स्वादिलो र मसिनो हुने गरेकाले पनि कृषकको आकर्षण कम भएको खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख परशुराम काफ्लेको भनाइ छ ।
‘कर्णालीमा उत्पादन हुने रातो मार्सीको चामल मोटो र खर्सो हुन्छ । बाहिरबाट आउने खाद्यान्न मीठोमसिनो हुन्छ,’ काफ्लेले भने, ‘त्यसैले यहाँका बासिन्दा खेतीपाती गर्नुभन्दा बाहिरबाट आउने खाद्यान्न खरिद गर्छन् ।’ सडक सञ्जालले जोडिएसँगै कर्णालीमा स्थानीय उत्पादन कम हुँदै छन् ।
