२०८१, २२ आश्विन मंगलवार

कवाडीवासीको पीडा : अग्लो स्थानमा झुन्ड्याएर राख्छन् मोबाइल

सुर्खेत : हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय अग्लो ठाउँमा मोबाइल झुन्ड्याएर फोन गर्न बाध्य छन् । नेपाल टेलिकमको टावरले राम्रोसँग काम नगरेपछि आफन्तसँग फोन गर्न अग्लो ठाउँमा मोबाइल झुन्ड्याएर फोन गर्न बाध्य भएका हुन् ।
मुगु जिल्लाको डुमनामा राखिएको टावरले राम्रोसँग काम नगरेपछि मोबाइल फोन अग्लो स्थानमा झुन्ड्याएर आफन्तसँग कुरा गर्न बाध्य भएको ताजाँकोट गाउँपालिका–१ कि बिमसरी खड्काले जानकारी दिइन् । दुई जिल्लाको सिमानामा सरकारले टावरको व्यवस्थापन नगरेपछि आफूहरूलाई सकस भएको खड्काले बताइन् ।
‘सादा मोबाइलको फोन सेटले मात्रै अलिअलि काम गर्छ,’ उनले भनिन् । बाजुरा र हुम्ला जिल्लाले टेलिफोनको लागि खासै चासो नदिएपछि सञ्चारबाट सकस भएको ताजाँकोट गाउँपालिका– १ कै हरिबहादुर खड्काको दुखेसो छ । ’अग्ला डाँडाकाँडाहरू गएर आफन्तसँग फोन गर्नुपर्छ,’ उनले भने ।